झापा / कोरोना संक्रमण बढेपछि स्थानीय प्रशासनले शिल गरेपछि ब्यापार व्यवसाय ठप्प भएको थियो। आफ्नो ब्यापार अस्तव्यस्त भएका कारण मन भुलाउन मंगलबार बिहानै भेडेटार घुम्न गएका झापाको सुरुङ्गाका बिष्ट दम्पति सँधैका लागि अस्ताएका छन्। भेडेटारबाट सुरुङ्गास्थित घर फर्कने क्रममा मंगलबार राती भएको दुर्घटनामा बिष्ट दम्पतिको ज्यान गएको हो।

गएराती साढे १० बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत दमक ४ स्थित दमक चियाबगान सडकखण्डमा मोटरसाईकलमा सवार बिष्ट दम्पतिलाई ट्रकले ठक्कर दिँदा बिष्ट दम्पतिको ज्यान गएको हो।

सुरुङ्गास्थित होटल हेवनका सञ्चालक बिष्ट दम्पति सवार प्रदेश २–०३–०१३ प ४७८७ नम्बरको आपाची मोटरसाईकललाई दमक चिया बगान खण्डमा ना.४ ख.८७३० नम्बरको ट्रकले ठक्कर दिएको इलाका प्रहरी कार्यालय दमकलाई उद्यृत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

दुर्घटनामा गम्भिर घाइते भएका मोटरसाईकल चालक झापाको कन्काई ३ का ४३ बर्षीय पुर्ण बहादुर बिष्ट र मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३६ बर्षीया भिमा कार्की बिष्टलाई उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल दमक पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए।

मोरङ्गको भाउन्नेमा मूल घर भएका बिष्ट दम्पति लामो समयदेखि सुरुङ्गामा होटल हेवन सञ्चालन गर्दै आएका थिए। दुर्घटना पश्चात तत्काल फरार भएको सो ट्रक र ट्रकचालक थापालाई अस्थाई प्रहरी पोष्ट ताराबारीले नियन्त्रणमा लिएको थियो।

ठक्कर दिने ट्रक र ट्रकचालक बिराटनगर ४ का ४८ बर्षीय सुजन थापा र दुर्घटनामा परेको मोटरसाइकल दमक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाका बिषयमा थप अनुसन्धान गरिरहेको दमक प्रहरीले जनाएको छ।

(तस्विर श्रोत : सामाजिक सञ्जाल)