सुनसरी/ इटहरी ७ का संगित थापा, अनिष कार्की र इटहरी ८का सिद्धार्थ राई र इटहरी ४ का निर्मल श्रेष्ठ एक अर्कामा परिचित ब्यक्तिहरु हुन्। यिनिहरु परिचित भएका कारण कहिले काँही यिनिहरुको लेनदेन पनि हुन्थ्यो। लेनदेनको बिषयमा यिनिहरुको कुरो नमिल्दा अपहरण सम्मको घटना हुन पुगेको छ।

घटना हो यहि श्रावण ८गते बिहानको । इटहरी ८ फुलबारी टोलमा रहेको प्लटिङमा एकजना पुरुषलाई अरु तीनजनाले आँखामा पट्टि बाँधेर ल्याएर कुटपिट गर्दै गरेको इटहरी प्रहरीलाई खबर आउँछ ।

आँखामा पट्टि नै बाँधेर लगेको अनि कुटपिट पनि हुँदै गरेको सुचना आएपछि इप्रका इटहरीबाट तत्कालै प्रहरी टोली ‘मुभ’ हुन्छ । तत्काल ‘मुभ’ भएको प्रहरी टोली इटहरी ८ फुलबारी टोलमा रहेको प्लटिङमा पुग्दा इटहरी ७ का २५बर्षीय संगित थापा, १९बर्षीय अनिष कार्की र इटहरी ८ का २३बर्षीय सिद्धार्थ राई मिलेर इटहरी ४का २२बर्षीय निर्मल श्रेष्ठलाई कुटपिट गरिरहेको अवस्थामा फेला पार्दछ।

प्रहरी त्यहाँ पुग्दा कुटपिट गर्दै गरेको ठाउँमा पट्टि बनाएको सुगा रङको कपडा समेत फेला पार्दछ। त्यसपछि प्रहरीले निर्मल श्रेष्ठसँग कुरा बुझ्दा संगित अनिस र सिद्दार्थ मिलेर आँफुलाई श्रावण ७ गते दिउसो १बजेतिर इटहरी–९ भोजपुरे टोलबाट जवरजस्ती नम्बर थाहा नभएको सिटी सफारीमा राखेर आँखामा पट्टि समेत बाँधेर बिभिन्न ठाउँ घुमाउदै रातपरेपछी संगित थापाको कोठामा लगेर रातभर आँखामा पट्टि बाँधेर कोठा भित्र थुनेर राखेको जवाफ दिन्छन् ।

सोधपुछकै क्रममा निर्मलले भोलीपल्ट अर्थात श्रावण ८ गते थुनिएको कोठाबाट संगित अनिस र सिद्दार्थले आँखामा पट्टि बाँधिबाँधि हिडाउँदै इटहरी–८ मा ल्याएर कुटपिट गरेको प्रहरीलाई जवाफ दिएका छन्।

प्रहरीले निर्मललाई सोही ठाउँबाट उद्वार गरेको छ भने अपहरण गरी बन्धक बनाउने संगित, अनिस र सिद्धार्थलाई पक्राउ गरेको छ। निर्मलले अपहरण तथा शरिर बन्धक सम्बन्धी कसूरमा जाहेरी दिएकोले सो मुद्दामा संगित अनिस र सिद्दार्थलाई प्रहरी हिरासतमा राख्न शुक्रबार सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद दिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक अर्जुन केसीले जानकारी दिनुभयो।

यसैबीच संगित, अनिष सिद्धार्थ र निर्मल चारैजना लागुऔषध दुब्र्यसनी रहेको र उनिहरुले लागुऔषध खरिद गर्न निर्मललाई केहि रकम दिएको र लामो समय भईसक्दा पनि लागुऔषध पनि नल्याएको अनि पैसा पनि फिर्ता नदिएको कारण पैसा असुल्न अपहरण गरिएको हुनसक्ने प्रहरी श्रोतले जानकारी दिएको छ।