सुनसरी/ नेपाल तरुण दल र नेविसंघका युवा नेकपा एमालेमा प्रवेश गरेको भन्ने बिषयमा सत्यता नरहेको तरुण दल बराहक्षेत्रले जिकिर गरेको छ । तरुण दलका बराहक्षेत्र नगर सभापति पवन चाम्लिङ्ग र सचिव मनोज योञ्जन तामाङले बिहिबार एमाले प्रवेश गरेका यूवा तरुण दलमा आवद्व नभएको जिकिर गरेका हुन्।

बिहिबार एमाले प्रवेश गरेका भनिएकाहरु कम्युनिष्टका छोराछोरी, आफन्त नै भएको भन्दै सभापति चाम्लिङ्गले माधव नेपाल समुहबाट सँस्थापनतिर गएको हुनसक्छ तर तरुण दलबाट कोहि एमाले तिर गएका छैनन्, सभापति चाम्लिङ्गले नेबि संघ स्थानीय नेता फुर्वा लामा तामाङ पनि ‘परिबन्ध’ मा परेर मात्र गएको दावी गरेका छन् ।

नेबि संघका स्थातीय नेता तामाङको नेतृत्वमा पार्टी प्रवेश गरिएको भनिएपनी फुर्वाले पार्टी प्रवेश कार्यक्रमको आफूले नेतृत्व नगरेको जिकिर गरेका छन्। उनले आफू ‘परिबन्ध’मा प्रवेश गरेको भएपनी अन्य नवप्रवेशीहरु आफूले नलगेको जिकिर गर्दै आफू फेरि कांग्रेसमै फर्किएको जनाईसकेका छन्।

यस्तै तरुण दल बराहक्षेत्र सचिव मनोज योञ्जन तामाङले एमाले प्रवेश गरेका भनिएका मध्ये नेपाल तरुण दल बराहक्षेत्र नगर कार्यसमितिबाट कुनै नाम, थर खुलेको सदस्य नरहेको सामाजिक सञ्जालमार्फत जिकिर गरेका छन्।

बिहिवार ४३ औँ पुष्पलाल स्मृति दिवसको अवसरमा बराहक्षेत्रमा भएको बिचार गोष्ठीमा बराहक्षेत्र ६ र ७ का १४ जना यूवा नेकपा एमालेमा प्रवेश गरेका थिए । एमालेका जिल्ला सदस्य बिष्णु घिमिरेका अनुसार बराहक्षेत्र ७ का आकाश बस्नेत, गगन घिमिरे, फणिन्द्रबहादुर राई, बिमल तामाङ, रोशन तामाङ, सुभित थापा, प्रवेश घिमिरे, आयुष धिमाल, दिनेश शाह, भावश कार्की, रोहन थापा, रेबस थापा र वार्ड नम्बर ६ का उत्तर कुमार राई एमाले प्रवेश गरेका हुन्।

बिहीबार भएको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य युवराज गौतम, मुरारी सुवेदी, बराहक्षेत्र नगरपालिकाका प्रमुख एवम् नेकपा एमाले सुनसरीका उपाध्यक्ष निलम खनाल, नेकपा एमालेका सुनसरी जिल्ला नेता, संगठन बिभाग प्रमुख तथा बराहक्षेत्र इञ्चार्ज योग्यराज खड्का तथा नेकपा एमाले बराहक्षेत्र नगर कमिटी सभापतिलगायत वडाध्यक्षहरुले नवप्रवेशीहरुलाई पार्टिमा अविर माला लगाई स्वागत गर्दै शुभकामना दिएका थिए।