सुनसरी/ प्रदेश नम्वर १ का मुख्यमन्त्री शेरधन राईले अवको केहि दिनमै प्रदेशसभामा प्रदेशको नामका बारेमा छलफल शुरु गरिने बताउनुभएको छ । प्रदेश नम्वर १ का सबै रेडियो र टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम जनतासँग मुख्यमन्त्रीमा कुरा गर्दै उहाँले त्यसो भन्नुभएको हो।

मुख्यमन्त्री राईले आफूले शुरुमा प्रदेशसभालाई सम्बोधन गर्दा र बजेट नीति तथा कार्यक्रमका बारेमा प्रश्नको जवाफ दिँदा बजेट लगत्तै प्रदेशको नामका बिषयमा छलफल शुरु हुने बताएको स्मरण गर्दै अव केहि दिनमै प्रदेशसभाको अधिबेशनमा नाम बारेको छलफल शुरु गरिने बताउनुभयो।

पास गर्न भने दुइतिहाई बहुमत आवश्यक पर्ने तर आफ्नो दलसँग दुईतिहाई नभएकाले कांग्रेस माओबादीलगायतका दलसँग छलफल गर्ने मुख्यमन्त्री राईले बताउनुभयो। उहाँले भन्नुभयो “मेरो दलसँग दुईतिहाई छैन, त्यसो हुँदा कांग्रेस, माओवादी केन्द्र अन्य दल सहमत हुँदा सर्वसम्मत हुन्छ, सर्वसम्मत नभए दुईतिहाईका लागि या त कांग्रेस सहमत हुनुपर्‍यो या माओवादी केन्द्र सहमत हुनुपर्‍यो, त्यसका लागि हामी छलफल गर्छौँ, सकेसम्म सर्वसम्मत नभए दुईतिहाईका लागि संयोजन गर्ने कार्य म गर्छु ।”

मुख्यमन्त्री राईले शुक्रबार(आज)देखि शुरु आर्थिक बर्षमा बजेट कार्यावन्यनमा ढिलाई नगरिने बताउनुभयो। उहाँले साउन भरिमा आवश्यक नीति निर्माण गरेर भदौ देखि कार्यावन्यन शुरु गरिने जानकारी दिनुभयो।

बजेट कार्यावन्यनलाई सहजता प्रदान गर्न जिल्ला जिल्लामा कार्यालयहरु स्थापना गरिने र त्यसका लागि गृहकार्य भइरहेको बताउनुभयो । आफूले शुरुका बर्षहरुदेखि नै असारे बिकास हुन नदिने भनेको तर कोरोनाका कारण बिगतका बर्षहरुमा बजेट कार्यावन्यनमा केहि असहजता आएको बताउनुभयो।