सुनसरी/ असार १९ गते शनिबार चारबजेतिर लागुऔषधको कारोबार भईरहेको भन्ने सुचना लागुऔषध नियन्त्रण ब्युरोको टोलीलाई थियो। सुचनामा भनिएको थियो कि इटहरी ६ को एक ठाउँमा प्रदेश १–०२–०४२ प ७२९७ नम्बरको डुक मोटरसाईकल प्रयोग गरी लागुऔषधको कारोबार भईरहेको छ।

सादापोशाकमा परिचालित लागुऔषध नियन्त्रण ब्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय इटहरीको संयुक्त टोलिले ब्राउन सुगरको कारोबार गर्दै गरेका इटहरी ६का २३ बर्षीय दिपेश तामाङ, इटहरी ८ का २५बर्षीय माईकल भन्ने शम्भु कार्की र इटहरी ५ का २० बर्षीय सुजन श्रेष्ठलाई नियन्त्रणमा लियो।

पक्राउ परेका तामाङ, कार्की र श्रेष्ठको साथबाट प्रहरीले २१ ग्राम ब्राउनसुगर(खैरो हिरोईन)बरामद गरेको छ। प्रहरीले उनिहरुको साथबाट बिभिन्न कम्पनिका तीनवटा मोबाईलहरु, नगद ३१हजार ६सय र सुन जस्तो देखिने पहेलो धातु ४३.९०ग्राम तौल भएको एउटा किचिएको बेरुवा औठी बरामद गरेको छ।

यस्तै हर्कमाया थापाको नामको एनएमबि बैँकको खाली चेक एउटा यस्तै शम्भु कार्कीको नामको सवारी चालक अनुमती पत्र र लागुऔषध कारोबारमा प्रयोग गरेको प्र.१–०२–०४२ प ७२९७ नम्बरको डुक मोटरसाईकल बरामद गरेको छ।

लागुऔषध कारोबारमा संलग्न दिपेश, शम्भु र सुजनलाई थप अनुसन्धानको लागि सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेको प्रहरीले जनाएको छ।

यसरी नै असार १९गते अपरान्ह साढे तीनबजेतिर इटहरी १ स्थित सडक किनाराको कल्भर्टमा शंकाष्पद अबस्थामा उभिई रहेका इटहरी ५ का २१ बर्षीय सनम राईलाई शंका लागेर शरिर खानतलासी गर्दा प्रहरीले १०० मिलिग्राम ब्राउनसुगर फेला पारेको छ।

राईले हातमा सेतो प्लाष्टिकको प्याकेट भित्र कालो प्लाष्टिकको पोकामा प्याक गरेर सो लागूऔषध बोकेका थिए। ब्राउन सुगरसहित फेला परेका सनमलाई पक्राउ गरेर लागुऔषध मुद्दामा सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।