सुनसरी/ पूर्वमन्त्री एवं नेकपा एमालेका यूवा नेता तथा यूवा संघका इञ्चार्ज महेश बस्नेतले युवा संघकै समानान्तर कमिटी गठन गर्दै हिडेका युवालाई मुल नेतृत्वमा ल्याउन संघ लाग्नुपर्ने बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ कमिटीको भर्चुअल बैठकमा नेता बस्नेतले यस्तो भन्नुभएको हो ।

नेता बस्नेतले अन्य दलका युवाहरुलाई पनि युवा संघमा आकर्षित गर्न दत्तचित्त भएर काम गर्न सुझाव दिनुभयो । बैठकमा नेता बस्नेतले युवा संघले बिभिन्न क्षेत्रमा देखाएको आफ्नो गौरवमय उपस्थितिलाई धन्यवाद ज्ञापन गर्दै मुलुकको समकालिन राजनीतिको बिषयमा प्रष्ट पार्नुभएको थियो। नेता बस्नेतले राजनीतिमा युवाहरुको भूमिकाको बिषयमा चर्चा गर्नुभएको थियो ।

बैठकमा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले पद लिने तर बैठकमा उपस्थित हुन नसक्ने तितो अनुभव समाप्त हुनुपर्ने बताउनुभयो । अध्यक्ष पौडेलले बैठक सञ्चालन कार्यबिधि र मापदण्ड बनाउनुपर्ने बताउनुभयो । पौडेलले युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नु पर्ने भूमिका र युवा संघका भावी रणनीतिका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले आफ्नो आफ्नो क्षेत्रबाट जनतासँग नजिक रहने बिभिन्न अभियान सञ्चालन गर्नका लागि तयार रहन पनि प्रदेश कमिटीलाई निर्देशन दिनुभयो ।

राष्ट्रिय यूवा संघका उपाध्यक्ष तथा प्रदेश १ इञ्चार्ज अञ्जना अधिकारीले बैठकका एजेण्डाहरु प्रष्ट पार्दै संगठनमा अव केन्द्रबाटै कुनै गुट उपगुट नरहेकोले जिल्लामा पनि एक भएर काममा लाग्न निर्देशन दिनुभयो।

उहाँले संगठनका अध्यक्ष पौडेलले प्रस्तुत गरेको कार्यसुची, कार्यभार तथा कार्यक्रमलाई हुबहु लागु गर्न प्रदेश कमिटि एवं प्रदेश अन्तरगतका सबै जिल्ला कमिटिहरुलाई निर्देशन दिनुभयो। अधिकारीले प्रदेश नम्बर १लाई उत्कृष्ट प्रदेश बनाउन आँफु दत्तचित्त भएर लाग्ने एवं सम्पुर्ण रुपमा तयार रहेको बताउनुभयो।

प्रदेश १ कमिटीका अध्यक्ष बिजय डाँगीको अध्यक्षतामा बसेको भर्चुअल बैठक पछिल्लो समय मुलुकको राजनीति अस्तिरतातर्फ लम्किरहेको र नेकपा एमालेभित्रको बिवाद पनि उत्कर्षमा पुगेर फुटको डिलमा पुगेको बेला पार्टीभित्रको गतिविधि र युवा संघले खेल्नुपर्ने भूमिकाबारे छलफल गर्न राष्ट्रिय युवा संघ नेपाल प्रदेश १ कमिटीले बैठक सञ्चालन गरेको हो ।

बैठकमा पार्टीलाई एकताबद्ध बनाउन युवाहरुले खेल्नुपर्ने भूमिका, युवा संघको अबको कार्यदिशा, प्रदेश कमिटीले खेल्नुपर्ने भूमिका, युवा संघका भावी रणनीति बारे छलफल भएको थियो । बैठकमा प्रदेश १ को १४ वटै जिल्लाका पदाधिकारीले संघले जिल्लामा गरेको कामका बारे रिपोटिङसमेत गरेका थिए ।

त्यस्तै उपाध्यक्ष तथा केन्द्रिय संगठन विभाग प्रमुख क्षितिज थेवेले संघको संगठनिक भावी योजना साथै प्रदेशले खेल्नुपर्ने भूमिकाको बारेमा समेत प्रष्ट पार्नुभएको थियो ।

बैठकमा संघका उपाध्यक्ष रबिन थापा, रोशन बस्नेत, महासचिव रमेश आचार्यलगायत केन्द्रिय पदाधिकारी साथै प्रदेश १बाट प्रतिनिधित्व गर्ने स्थायी कमिटी र सचिवालय साथै केन्द्रिय कमिटीका सदस्यहरुको उपस्थिति थियो ।