सुनसरी/ राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा धनकुटाका सिद्धराज राई नियुक्त हुनुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उहाँलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो।

धनकुटा, शहीदभूमि गाउँपालिका वडा नं ३ निवासी राईले २०५५ सालदेखि धरानबाट निस्कने न्यूज टाइम्स साप्ताहिकबाट पत्रकारिता शुरु गर्नुभएको थियो। लामो समय धनकुटामा रही मोफसल र त्यसपछि केन्द्रमा रहेर उहाँले पत्रकारिता गर्नुभएको थियो।

उहाँले सुनसरीको इटहरीबाट प्रसारण हुने सप्तकोशी एफ एममा धनकुटा सम्वाददाताको रुपमा, केन्द्रबाट निस्कने नेपाल समाचारपत्र राष्ट्रिय दैनिक हुँदै नागरिक दैनिकमा काम गरिसक्नुभएको छ। नागरिक दैनिकमा जिल्ला ब्युरो रहनुभएका उहाँ अहिले काठमाडौँबाट प्रकाशन हुने देखापढी डटकममा सम्पादकका रुपमा काम गरिरहनुभएको छ।

आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर राई नेपाल पत्रकार महासंघ र प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहनु भएको छ।