बिराटनगर/ गत बुधबार मोरङ्गको मिक्लाजुङ्ग गाउँपालिका–४ का ३५ बर्षीय गंगा मगर दाँत माझ्दै थिए। मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा चिप्लिएर ब्रस मगरको पेटभित्र पस्यो।

घर नजिकैको धारामा जिब्रो सफा गर्दा ब्रस छिरेपछि आत्तिदै घरमा आएर ब्रस पेटभित्र छिरेको सुनाएपनि परिवार र छरछिमेकीलेसमेत शुरुमा त उनको कुरा पत्याएनन् ।

मगरकी श्रीमति पुनम भन्छिन ‘ब्रस निले भन्दै धाराबाट आउँनु भयो, शुरुमा त जिस्किएर भनेको होला जस्तो लाग्यो, पछि हो रहेछ भन्ने भएपछि सात्तै गयो, त्यत्रो ब्रस कसरी निल्नुभयो भनेर छक्क परेँ’।

मगर भन्छन, ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नुपर्‍यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिएँ। हात पनि र्‍यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो, दुख्ने, पोल्ने त खासै भएन तर, त्यत्रो ब्रस नै पेटमा छिर्दा अब के हुन्छ भनेर तनाब चाँही भयो।’

ब्रस पेटमा पसेपछि आत्तिएका मगर बिराटनगरस्थित नोबेल शिक्षण अस्पताल पुगेका थिए। अस्पतालमा इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो। नोबेलका चिकित्सकले इण्डोस्कोपीबाटै ब्रस तान्ने कोशिस नगरेका हैनन् तर ब्रस निस्किएन।

ब्रस पेटमा छिर्दा पनि उनमा खासै ठूलो स्वास्थ्य समस्या देखिएको थिएन । तर, अब के होला भनेर उनीहरु आत्तिएका थिए।

नोबेल शिक्षण अस्पतालमा निकालियो ब्रस
गंगा मगरको नोबेल शिक्षण अस्पतालमा शल्यक्रिया गरी पेटबाट चिकित्सकले ब्रस निकालेका छन्। पेटको सानो भाग चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालिएको नोबेलका शल्यचिकित्सक डा.अमित भट्टराईले जानकारी दिए।

नोबेलका चिकित्सक डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले बिहिबार शल्यक्रिया गरेर ब्रस निकालेको हो।

ब्रस पेटबाट निकालिसकेपछि अहिले मगरको अवस्था सामान्य छ। स्वास्थ्य अवस्था सामान्य भइसकेकाले अव उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए।

अत्याधुनिक उपकरण र दक्ष चिकित्सकको व्यवस्था मिलाएको नोबेलले निकै जटिल र दुर्लभ शल्यक्रिया पनि सफलतापूर्वक गर्दै आएको छ।