काठमाण्डौ/ नेपाल पत्रकार महासंघका क्रियाकलापमा माओवादी पक्षधर हावी हुँदै गएको छ। नेपाल प्रेस यूनियनका तर्फबाट बिजयी अध्यक्ष बिपुल पोखरेलले चासो नराख्दा हार्डकोर माओबादी भनेर चिनिने रोशन पुरीले महासंघमा मनलाग्दी काम गर्दै आएका हुन्।

महासंघले गर्ने सिफारिस, सुविधाका बिषय र चाल्ने कदममा समेत माओबादी अध्यक्ष पुष्पकमल दाहालको निर्देशनमा पुरी सक्रिय भएको यूनियनका नेताहरुले गुनासो गर्न थालेका छन्।

पछिल्लो समय प्रेस काउन्सिल नेपालमा भएका नियुक्तिका बिरोधमा समेत पुरीले अध्यक्ष बिपुललाई भाउ नै नदिई अन्य संगठनका नेताहरुलाई धम्क्याएर बिज्ञप्ति निकाल्न लगाएको बिषय अहिले चर्चामा छ। सरकारले काउन्सिल अध्यक्षमा पत्रकार एवं अधिवक्ता बालकृष्ण बस्नेतलाई नियुक्त गरेको थियो। आफूसँग पराजित भएका उम्मेदवारलाई काउन्सिलको उच्च पदमा पु¥याएको भन्दै माओबादीका पुरीले अन्य संगठनका नेताहरुलाई गुमराहमा राखेर बिरोध जनाउन लागेको युनियनका एक नेताले जानकारी दिएका छन्।

बस्नेतको नियुक्तिको बिरोध गर्न पुरीले नै नक्सालस्थित एक रेष्टुरेण्टमा बिपक्षी ५ गठबन्धन आवद्ध पत्रकार नेताहरु बोलाएका थिए। त्यहाँ उनले आफूले मस्यौदा गरेर ल्याएको बिरोधपत्र सुनाएका थिए। तर यूनियनका अध्यक्ष बदी सिग्देल, प्रेस मञ्चका अध्यक्ष केशव अर्यालले सरकारले योग्यता पुगेको, सकृय पत्रकारलाई नियुक्ति गरेकाले व्यक्तिगत बिरोधमा नउत्रने सुझाव राखेका थिए।

पुरीले ल्याएका बिरोधपत्रमा राखिएका भाषा सिग्देलसहितले काटेपछि भने राजनीतिक तवरमा बिरोध मात्र भएको सहभागी एक नेताले जानकारी दिएका छन्।

व्यक्तिगत स्वार्थ, लाञ्छनासहित पुरीले बनाएको मस्यौदालाई अरु त अरु उनकै संगठन प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले असहमति जनाएपछि नयाँ बिज्ञप्ति तयार भएको ती नेताले जनाएका छन्।

दाहालको सो असहमतिपछि पुरी अन्य तवरले झमेला गर्न सकिन्छ कि भन्दै आफ्नो समूहमा छलफल चलाइरहेको बुझिएको छ।