बेलबारी/ गत जेठ १२ गते राति मोरङको सुन्दरहरैचा ४ का मदनकुमार चौधरीको प्र–१–०५–००१ प–००६१ नम्बरको रातो एनएस मोटरसाइकल घरबाटै चोरी भयो । घरको प्यासेजमा राखेको सो मोटरसाईकल तीनजनाले रेकि (निगरानी) गर्दै चोरेका हुन् ।

सुन्दरहरैँचा ४ बलियाका चौधरीको घरबाट इटहरी ४ का २१ बर्षीय गोलमोल राई, १९ बर्षीय रोमन परियार र २१ बर्षीय मनोज परियारले लकब्रेक गरेर निकालेका थिए ।

त्यसपछि चोरीमा संलग्न राई र परियारद्वयले चोरीको मोटरसाईकल इटहरी ३ का ३० बर्षीय मचिन राईकोमा ल्याएर राखेका थिए । अनुसन्धानमा गोलमोल, रोमन, मनोजको काम चोर्ने अनि मचिनकोमा ल्याएर स्टोर गर्ने गरेको खुलेको प्रहरी श्रोतको भनाई छ । त्यसपछि चोरीको सो मोटरसाईकल बेच्न मचिनले ग्राहक खोजेका थिए ।

ग्राहक खोजीका क्रममा इटहरी २० का ३८ बर्षीय बलराम गुरुङ र इटहरी २ का ३९ बर्षीय सुवास लिम्बु भेटिए, चोरीको हो भन्ने जान्दाजान्दै गुरुङ र लिम्बुले प्र–१–०५–००१ प–००६१ नम्बरको सो मोटरसाइकल किनेको पाईएको छ । प्रहरी अनुसन्धानका क्रममा गोलमोल, रोमन, मनोज, मचिन, बलराम र सुवासको चिनजान समेत रहेको भेटिएको छ ।

सबैजनामा एकअर्कामा परिचित नभएपनि उनिहरुको कनेक्सन रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक सरोज खनाल बताउनुहुन्छ ।

यसपछि उल्लेखित मोटरसाइकल बलराम र सुवासले नाफा खाएर इटहरी १३ खनारका राजेश मेहतालाई बेचेको भेटिएको छ । मोटरसाईकल चोरी भएपछि इलाका प्रहरी कार्यालय बेलबारीले सुक्ष्म अनुसन्धान एवं खोजतलास थालेको थियो । खोजतलासको क्रममा प्रहरीले शुक्रबार(जेठ २१गते) चोरी भएको मोटरसाइकल मेहताको घरबाट फेला पारेको थियो ।

मोटरसाईकल फेला परेपछि प्रहरीले मेहतासहित मोटरसाइकल नियन्त्रणमा लियो । मेहता पक्राउ परेपछि चोरीमा संलग्न ६जना र चोरीको मोटरसाईकल किन्ने मेहतासहित इटहरीका सातै जनालाई इलाका प्रहरी कार्यालय इटहरीको समन्वयमा बेलबारी प्रहरीले पक्राउ गरेर शनिबार सार्वजनिक गरेको हो ।

उनिहरुको आ–आफ्नै घरबाट पक्राउ गरेर थप अनुसन्धान गरिरहेको इप्रका बेलबारीका प्रहरी निरिक्षक सरोज खनालले जानकारी दिनुभएको छ ।