WHOले दियो विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्टलाई नयाँ नाम

  • एजेन्सी
  • प्रकाशित मिति: जेठ १८, २०७८

एजेन्सी/ विश्व स्वास्थ संगठन (WHO-डब्लुएचओ) ले संसारका विभिन्न देशमा भेटिएका कोरोनाभाइरसका भेरियन्ट (प्रकार) लाई नयाँ नाम दिएको छ।डब्लुएचओले ग्रिक अल्फाबेटअनुसार ती भेरियन्टको नामाकरण गरेको हो।

वैज्ञानिक नाम उच्चारण गर्न कठिन हुने र जुन देशमा भेटिएको हो त्यही देशको नाममा भेरियन्टको नाम राख्दा  सो देशलाई  कलंक लगाएजस्तो हुने भएकाले नयाँ नाम राख्ने निर्णय भएको हो।

सो निर्णयअनुसार अब बेलायतमा भेटिएको भेरियन्टको नाम अल्फा, दक्षिण अफ्रिकाको बेटा, ब्राजिलको गामा र भारतमा भेटिएको  भेरियन्टको नाम डेल्टा हुने भएको छ।

अब नयाँ भेरियन्ट भेटिए ग्रिक अल्फाबेटको क्रम अनुसार तिनीहरूको नामाकरण हुँदै जानेछ। डब्लुएचओका अधिकारीहरूले लामो समयको छलफलपछि ग्रिक अल्फाबेट अनुसार नयाँ भेरियन्टको नाम राख्ने निर्णय गरेका हुन्।  

यसअघि महामारी फैलँदा जहाँबाट त्यसको उत्पति भएको हो त्यही ठाउँका आधारमा नाम राख्ने चलन थियो। इबोला भाइरस फैलँदा कंगोको नदीको नामबाट यसको नाम राखिएको थियो।

यसरी कुनै ठाउँका आधारमा नाम राखिने नामले सधैँ भाइरसको उत्पतिबारे  बताउँछन् भन्नेचाहिँ हुँदैन। सन् १९१८ मा फैलिएको महामारीको नाम स्पेनिस फ्लू राखिएको थियो तर सो महामारी कहाँबाट शुरु भएको थियो पत्ता लागेको थिएन।

'कुनै पनि देशले भेरियन्ट पत्ता लगाएर अरूलाई जानकारी दिएको बदलामा कलंकित हुनु हुँदैन,’ डब्लुएचओकी इपिडेमिओलोजिस्ट मारिया भान केरखोभले भनिन्।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / [email protected]

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2021 - Purbikhabar.com All rights reserved