काठमाण्डौ/ चीन सरकारले अनुदान घोषणा गरेको १० लाखमध्ये ९ लाख डोज खोप आज मंगलबार नेपाल आइपुग्दैछ। ८ लाख चीनको राजधानी बेइजिङ र १ लाख खोप स्वायत्त क्षेत्र तिब्बतबाट आउने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।

चीन सरकारद्वारा अनुदान प्राप्त खोपमध्ये ८ लाख डोज लिन नेपाल वायुसेवा निगमको काठमाडौं–बेइजिङ–काठमाडौं मेडिकल कार्गो उडान सोमबार राति ११ बजे बेइजिङ प्रस्थान गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। सो विमानले आज मंगलबार २ बजेसम्म ८ लाख खोप नेपाल ल्याईपुर्‍याउने छ।

त्यस्तै, चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाखमध्ये पहिलो लटको झन्डै १ लाख डोज खोप हिमालयन एयरलाइन्सको दुई चार्टर्ड बिमानमार्फत क्रमशः मंगलबार १ लाख र बुधबार १ लाख ल्याइने कार्यतालिका तय भएको कार्यालयका प्रवक्ता किरणराज शर्माले जानकारी दिनुभएको छ।

तीन पटकमा चीनबाट भेरोसिल खोप नेपाल ल्याइने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बताउनुभयो। जसको प्राथमिकतामा ज्येष्ठ नागरिक परेका छन्।