सुनसरी/ आज २८औँ मदन–आश्रित स्मृति दिवस। नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन बिभाग प्रमुख जीवराज आश्रितको दुर्घटनामा परी निधन भएको २७ बर्ष पुरा भएको छ।

२८ औँ मदन आश्रीत स्मृति दिवसमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अनौपचारिक कार्यक्रम गरेर स्मृति दिवस मनाउन लागेको छ। कोरोना भाइरसका कारण पार्टीले कुनै औपचारिक कार्यक्रम भने नगर्ने बताएको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनलाई जनताको बहुदलीय जनवाद (जबज) मार्फत लोकतान्त्रिक मार्गमा लान भण्डारीले महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँले नै जबजको सिद्धान्त प्रतिपादन गर्नुभएको हो।

जननेता भण्डारी र आश्रितलाई नेकपा एमालेले आदर्श नेता मान्दछ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) लगायतले बिभिन्न कार्यक्रम गरी आज उहाँहरुलाई स्मरण गर्दैछन्। भण्डारी र आश्रितको ०५० जेठ ३ गते चितवनको दासढुंगामा भएको जीप दुर्घटनामा परी निधन भएको थियो।