सुनसरी/ प्रेस चौतारी नेपालले केन्द्रीय कमिटी सदस्य तथा नेपाल पत्रकार महासंघ च्यानल नेपाल प्रतिष्ठान शाखाका अध्यक्ष शान्तिराम कार्कीको निधन प्रति गहिरो दुख ब्यक्त गरेको छ। कोरोना संक्रमणका कारण ३५बर्षको अल्पायुमै असामयिक निधन भएकोमा सङ्गठनले दुख ब्यक्त गरेको हो।

कोरोना संक्रमणपछि काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा उपचाररत कार्कीको शनिबार साँझ ८ः०० बजे निधन भएको हो। झापाको साविक डोरामारी गाविस, हाल गौरादह नगरपालिका–४ डोरामारी निवासी कार्की डेढ दशकदेखि काठमाडौमा रहेर पत्रकारितामा सक्रिय हुनुहुन्थ्यो।

पेशाप्रति अत्यन्तै लगनशील कार्कीले च्यानल नेपाल टेलिभिजनको समाचार प्रमुखको रुपमा समेत जिम्मेवारी सम्हालिसकेका थिए । हाल अनलाइन पत्रिका जनताटाइम्स डटकमको सम्पादक र सौर्य दैनिकका सहसम्पादक कार्कीलाई गत बैशाख १९ गते संक्रमण पुष्टि भएको थियो। चौतारीका अध्यक्ष गणेश बस्नेतले बिज्ञप्ति जारी गरी कार्कीको अल्पायुमै भएको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, ऊर्जाशील र जुझारु युवा पत्रकार गुमाएको उल्लेख गर्नुभएको छ।

कोरोना संक्रमणको कारण अहिलेसम्म मुलुकभर गरी १४जना पत्रकारले जीवन गुमाउनु परेको छ। अध्यक्ष बस्नेतले जीवन गुमाउने सबै पत्रकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित सबै पत्रकारको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

साथै अध्यक्ष बस्नेतले महामारीको चपेटमा परेको यस अवस्थामा नागरिकलाई सूसुचित गराउने दायित्व निर्वाहमा लागिरहँदा स्वास्थ्य मापदण्डको पूर्णपालना गरी संक्रमणबाट बच्न पनि आग्रह गर्नुभएको छ।

पत्रकार कार्कीको निधन प्रति प्रेस चौतारी नेपाल इटहरी नगर कमिटि एवं पूर्वीखबर डटकम पनि गहिरो शोक ब्यक्त गर्दछ।