दुहवी/ नेकपा एमाले सुनसरी जिल्ला इञ्चार्ज भगवती चौधरीले कोरोना संक्रमणको दोश्रो लहर रोकथाम, नियन्त्रणका लागि सबै राजनीतिक दल, नागरीक समाज र पेशाकर्मीलाई एकजुट हुन आग्रह गर्नुभएको छ।

विश्वव्यापी कोभिड–१९ को दोश्रो भेरीयन्टले छिमेकी मुलुक भारतसँगै हाम्रो देश नेपाल आक्रान्त रहेको स्मरण गर्दै नेतृ चौधरीले नेपाललाई कोरोना भाइरस मुक्त पार्न सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो।

कोरोना संक्रमणको पहिलो भेरियन्टमा नेपालले अन्य मूलुकको तुलनामा कम क्षति व्यहोर्नुपरेको तर्क गर्दै एमाले केन्द्रीय सदस्य समेत रहेकी चौधरीले गतवर्षको कोरोना संक्रमणमा शुरुवाती अवस्थामै लकडाउन गर्दै संक्रमितको उपचार, स्वास्थ्य वीमा, व्यवस्थापनमा स्थानीय, प्रदेश र केन्द्र सरकारले उचित रणनीति अपनाएकाले नेपाल अन्य देशको तुलनामा सुरक्षित रहन सकेको बताउनुभयो।

आज कोरोना संक्रमणको दोश्रो भेरीयन्टलाई नियन्त्रण गर्न चुकिरहेको उल्लेख गर्दै नेतृ चौधरीले आफ्नै जिल्लासमेत असुरक्षित भएको बताउनुभयो ‘सुनसरी जिल्लाकै कुरा गर्दा दैनिक एक सयबढी नया संक्रमित थपिरहेको रेकर्ड छ। पछिल्लो एक सातायता सुनसरीका इटहरी, धरान, इनरुवा दुहवीसँगै सिमावर्ती क्षेत्रमा पनि कोरोना संक्रमितको संख्या बढ्दो छ। एक साताअघि मात्रै इनरुवामा एकै परीवारका तीनजनाको कोरोना संक्रमणकै कारण दुखःद निधन भएको दृश्यले यो कति भयावह भइरहेछ भन्ने अनुमान गर्न सकिन्छ।’

उहाँले आफ्नै घर आँगनका आमाबुबा दाजुभाई कोरोना संक्रमणले जीवन र मृत्यूको दोसाँधमा परेको देख्दा आँखा चिम्लेर बस्न नहुने बताउनुभयो। ‘अव हामीले आफ्नो ठाउँ र जनताको जीवनरक्षाका लागि दिल खोलेर काम गर्न अत्यावश्यक भइसक्यो।’ चौधरीले जिल्लाका पार्टी सदस्य, जनवर्गीय संगठन तथा अन्य राजनीतिक दल र नागरिक समाजलाई पनि हातेमालो गर्न आब्हान गर्नुभएको छ।

कोरोना संक्रमणको दोश्रो भेरियन्टबाट जनतालाई बचाउन राज्यले आफ्ना सबै प्रकारका संयन्त्र प्रयोग गर्दैगर्दा पनि नसक्ने अवस्था सृजना भएको उहाँको भनाई छ। ‘आज देशका कुनैपनि सरकारी, निजी अस्पतालहरुमा वेड पाउन मुस्किल छ। देशभर अक्सिजन, भेन्टिलेटर र आइसियूको हाहाकार मच्चिएको कारुणीक दृश्य देखापर्दा अब नागरिक स्तरबाट पनि महामारीसँग लड्न आवश्यक कदम चाल्न अपरिहार्य छ। यसका अलावा हामी विभिन्न राजनीतिमा आस्था राख्ने राजनीतिज्ञले पनि कोरोना महामारीबाट हाम्रा जनतालाई जोगाउन, सुरक्षित राख्न हातेमालो गरौं ।’ चौधरीले भन्नुभएको छ।

कोरोना संक्रमणबाट जोगिने एक मात्र उपाय भनेको सामाजिक दुरी रहेको उल्लेख गर्दै चौधरीले बिश्वका ठूल्ठूला देशहरुले पनि सामाजिक दुरी कायम गरेर नै कोरोना महामारीबाट छुट्कारा पाउँदै गएकाले सामाजिक दुरीकोे बिकल्प खोज्ने कल्पना गर्न पनि नसकिने बताउनुभयो। ‘कोरोनाको पहिलो भेरियन्टमा जसरी हामीले लकडाउनको पूर्ण पालना गरेर घरमा बस्यौं, जसरी पटक–पटक साबुनपानीले हात धुने, सेनिटाइजर लगाउने, मास्क लगाउने काम गर्यौं अहिले गर्नेपनि त्यहि हो।’

चौधरीले सम्पूर्ण देशव्यापीलाई कोरोनाको खोप लगाउने र संक्रमितलाई आवश्यक स्वास्थ्योपचारको व्यवस्थापन गर्नुपर्ने दायीत्व राज्यसँग रहेकोले राज्यलाई गम्भिरतापूर्वक कोरोना महामारीसँग लड्न आग्रह गर्नुभयो। यसका साथै नागरिक स्तरबाट पनि राज्यको मात्रै मुख ताकेर कोरोनाको महामारीबाट मुक्ति पाउने अवस्था नरहेको उहाँको तर्क छ। ‘हामीले पनि आ–आफ्ना क्षेत्रबाट कोरोना संक्रमण नियन्त्रण र उपचारमा सक्दो योगदान गर्नुपर्ने बेला आएको छ। स्थानीय तहमा अव हामीले हाम्रा आमाबुबा दाजुभाई तथा दिदिबहिनीलाई कसरी सुरक्षित गर्न सक्दछौं त्यसप्रति ध्यानकेन्द्रित गर्न गराउन जरुरी छ।’ चौधरीले भन्नुभएको छ।

अहिले सरकारले जारी गरेकोे निशेधाज्ञाले श्रमिक वर्ग र दैनिक ज्यालादारीका जनताहरु पुनः भोकमरीको अवस्थामा जान सक्ने भएकाले तिनीहरुको जीवन रक्षार्थ राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी लाग्नुपर्ने नेतृ चौधरीको धारणा छ। ‘दिनदिनै बढ्दै गएको संक्रमणका कारण सरकारले जारी गरेको निषेधाज्ञा बढ्ने संकेत देखिएको छ। अव हामी राजनीतिक दल, समाजसेवी, उद्योगी, व्यवसायीहरुले ती वर्ग समुदायका लागि पनि आ–आफ्नो क्षेत्रबाट सहयोग जुटाउनु पर्ने बेला आएको छ।’ चौधरीले भन्नुभएको छ ‘जीवन रहे न जगत रहन्छ।’

नेतृ चौधरीले यो महामारीमा आम जनताको जीवन जोगाउन, सुरक्षित गर्न र कोरोना महामारीबाट मुलुकलाई मुक्त बनाउन आम उद्योगी, व्यवसायी, नागरिक समाज, सञ्चारकर्मी, सुरक्षाकर्मी, पेशाकर्मी, फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी तथा जिल्लामा रहेका सबै राजनीतिकर्मीहरुमा हातेमालो र सहकार्यका लागि आब्हान गर्नुभएको छ।

स्मरण रहोस् नेतृ चौधरीले गत वर्षको लकडाउनमा आफ्नै सक्रियतामा जिल्लाका हज्जारौं नागरिकलाई खाद्यान्न, कोरोना स्वास्थ्य सामग्रीहरु वितरण गर्नुभएको थियो। उहाँको संस्था फरवार्ड माइक्रोफाईनाईन्सले सरकारको कोरोना राहत कोष र स्थानीय तहमा गठन गरिएका राहत कोषहरुमा लाखौं आर्थिक तथा कोरोना स्वास्थ्य सामग्री प्रदान गरेको थियो।