बिराटनगर/ पूर्वाञ्चल बिश्वबिद्यालयको प्रश्नपत्र परीक्षाअघि नै सार्वजनिक गरेको भन्दै प्रहरीले १० जनालाई पक्राउ गरेको छ। प्रश्नपत्र आउटको घटनामा संलग्न भन्दै प्रहरीले उनिहरुलाई पक्रेको हो।

बैशाख ३ गते बिश्वविद्यालयको इन्जिनियरिङ संकायतर्फ बीई दोश्रो सेमेष्टरको फिजिक्स बिषयको प्रश्नपत्र परीक्षा अगाडी नै सार्वजनिक गरेको भन्दै प्रहरीले कोमलप्रसाद गौतम, गोपाल कार्की, बिजय पोखरेल, मिनप्रसाद भट्ट, भरत पठन, बिकास खड्का, निर्मल खड्का, नानीपथ मण्डल, जीवनकुमार यादव र महेश यादवलाई पक्राउ गरेको हो।

कोमलप्रसाद गौतम बिश्वबिद्यालयको फोटोकपी फाँटमा काम गर्ने कार्यालय सहायक हुन् भने अरु चाँही बिद्यार्थी हुन्। बिश्वबिद्यालयको फोटोकपी गर्ने कर्मचारीले सामाजिक सञ्जाल प्रयोग गरी प्रश्नपत्र बाहिर पुर्‍याएको मोरङका प्रहरीले जनाएको छ।

उनीहरुमाथि शिक्षा ऐन २०२८ अनुसार कारबाही गरिने र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको मोरङ्ग प्रहरीले जनाएको छ।