केराबारी/ खदम खोलामा जारी उत्खनन्का कारण निर्माणाधिन पुलको काम प्रभावित हुने देखिएको छ। पुल निर्माण थालिएको ठाउँको करिव १०० मिटर दक्षिणमा उत्खनन् भईरहेका कारण पुल निर्माण प्रभावित हुने देखिएको हो।

मदन भण्डारी राजमार्ग अन्तरगत केराबारी गाउँपालिका खण्डको खदम खोलामा पुल निर्माणका लागि जग खन्ने काम शुरु भईसकेको छ। जग खन्ने काम शुरु भएपनि सो ठाउँको नजिकै (करिव १५०मिटर) दक्षिण सम्म गिटी बालुवा निकाल्न शुरु भईसकेको छ।

पुल देखि पाँचसय मिटर दक्षिण अवस्था हेरेर १ किलोमिटर सम्म उत्खनन् गर्न नपाईने भएपनि केराबारी गाउँपालिकाले सो नियम मिचेर ठेक्का लगाएको छ। र गाउँपालिकाले पुल बन्ने ठाउँबाट २सय मिटर दक्षिणसम्म सामान निकाल्न पाउने भनेको बुझिएको छ।

यसरी खदम खोला एकदमै भिरालो भएका कारण पुलको जग रहने ठाउँ नजिकैसम्म गिटी वालुवा निकाल्न थालेपछि जग बगाउने सम्भावना भएको छ। जग रहने भागको नजिकैसम्म खोला उत्खनन् भएपछि पुल जोखिममा परेको स्थानीयको भनाई छ।

पुल निर्माणको ठेक्का पाएको शर्मा एण्ड कम्पनि प्रा.लिका पूर्वाञ्चल म्यानेजर गुरुप्रसाद ढुंगानाले जग रहने भागको नजिकै सम्म उत्खनन् भएकोले बर्षायाममा पुलको जग बाढिले प्रभावित बनाउने भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ।

स्थानीय प्रहरीलाई यस बिषयमा प्रश्न गर्दा आँफुहरु यस बिषयमा सचेत रहेको अनि गाउँपालिकाले खन्न दिएको ठाउँसम्म मात्र खन्दै गरेको दावी गरेको छ।