केराबारी/ मदन भण्डारी राजमार्ग अन्तरगतको केराबारी गाउँपालिका खण्डमा पर्ने खदम खोलामा पुल निर्माणको काम शुरु भएको छ। खदम खोलामा निर्माण हुने पक्कि पुलको सोमबारदेखि पिल्लर खन्ने काम शुरु भएको हो।

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत मदन भण्डारी राजमार्गमा बन्ने खदम खोलाको पुलको काम शुरु भएपछि स्थानीयबासी उत्साहित भएका छन्। स्थानीयले गाउँपालिकाको केन्द्रसँग डाँगी, मुगु, याङ्गशिला जोडिने भन्दै खुसी ब्यक्त गरेका छन्।

केहि समय अघि नै पुल बनाउने कामदार, कर्मचारी बस्ने आवास गृह निर्माण सम्पन्न भईसकेको छ।

लामो समयसम्म खदम खोलाको पुल कहाँ बन्ने बिषयमा स्थानिय अगुवा र क्रसर ब्यवसायीहरुबीच मतभिन्नता थियो। स्थानीय क्रसर ब्यवसायीहरुको अगुवाईमा पुललाई अहिले काम शुरु भएको ठाउँभन्दा उत्तर तर्फ सार्न भरमग्दुर प्रयास गरेपनि अन्ततोगत्वा पुल स्थानीयले चाहेकै स्थानमा बन्ने भएको छ।

ब्यवसायीहरुको अगुवाईमा पुल केराबारी बजारको सिधा बनिँदा केराबारी बजार तहस नहस हुने बहानामा पुल खोलाको उत्तर तर्फ धकेल्न सक्दो प्रयास गरेका थिए। उनिहरुले संघीय राजधानी काठमाण्डौसम्म पुगेर पुललाई चुरेक्षेत्र तर्फ सार्न दवाब श्रृजना गरेका थिए।

कस्तो बन्दैछ खदम खोलामा पुल ?
खदम खोलाको पश्चिम पट्टि बगाने गौँडा उत्तर, भूपति गौँडा(राजेश गौँडा) दक्षिणको भागमा बन्ने पुल ४ सय मिटर लम्बाईको हुनेछ। प्रत्येक २५ मिटरमा एउटा पिल्लर गरेर १५ वटा पिल्लर र दुईटा अपुटमेन्ट र गाडी गुड्ने भाग साढे सात मिटर हुने पुलमा दुईतर्फ गरेर डेढ मिटर फुटपाथ(मानिस हिड्ने भाग) रहने शर्मा एण्ड कम्पनी प्रा.लि.का पूर्वाञ्चल म्यानेजर गुरु प्रसाद ढुंगानाले  पूर्वीखबरलाई जानकारी दिनुभएको छ।

हाल पानी बग्ने ठाउँ( खोला सतह) बाट करिव १० मिटर उचाईमा रहने पुलको वारीपारी १२सय मिटर सडक बन्ने र पुलको पुर्वपट्टिको भाग देउराली चोक र माथिल्लो पिपल बीचमा रहने जनाईएको छ। पुलको शर्मा एण्ड कम्पनी प्रा.लि. काठमाण्डौले भ्याटसहित ६४ करोडको लागतमा निर्माण सम्पन्न गर्ने जनाएको छ।

र यो पनि : खदम खोलामा ४ सय मिटरको पुल, कामदार/कर्मचारी आवास निर्माण प्रारम्भ