सुनसरी/ सुनसरीको इटहरीमा जारी स्व.गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनलमा दमक नगरपालिका प्रवेश गरेको छ। आइतबार सम्पन्न तेश्रो क्वाटरफाइनल खेलमा इटहरी उपमहानगरपालिकालाई २–१गोल अन्तरले पराजित गर्दै दमक नगरपालिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

दमकको जितमा किस्मत लिम्बु एक्लैले २ गोल गरे। उनले खेलको ५२ औ र ७३ औ मिनेटमा गोल गरेका थिए। आईतबारको खेलको म्यान अफ द म्याच २ गोल गरेका लिम्बु नै घोषित भए। उनलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले नगद ३ हजार सहित ट्रफी प्रदान गर्नुभयो। इटहरीका लागि एक मात्र गोल निकेश तामांगले खेलको ७० औ मिनेटमा गरेका थिए।

दमक नगरपालिकाले अब सेमिफाईनलमा चैत्र १८ गते सुनसरीको इनरुवा नगरपालिकासँग प्रतिष्पर्धा गर्नेछ। इनरुवा यसअघि नै उदयपुरको चौदण्डीगढी नगरपालिकालाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरिसकेको छ।

इटहरीस्थित क्षेत्रिय रंगशालामा जारी प्रतियोगिताको अन्तिम क्वाटरफाइनल खेलमा मंगलबार बिराटनगर महानगरपालिका र धनकुटा नगरपालिका आमने सामने हुने प्रतियोगिता संयोजक सूर्य राइले जानकारी दिनुभयो।

प्रतियोगितामा प्रदेश एकका ८ वटा नगरपालिकाका टिम सहभागी छन्। प्रतियोगिताको बिजेता टिमले २ लाख र उपबिजेताले १ लाख पुरस्कार पाउने छन्।