इटहरी/ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले देश अहिले समृद्धिको फराकिलो यात्रामा अघि बढेको बताउनुभएको छ। इटहरी खानेपानी उपभोक्ता संस्थाको नयाँ प्रशासनिक भवन उद्घाटन कार्यक्रममा मुख्यमन्त्री राईले त्यसो भन्नुभएको हो।

उहाँले तीनै तहको सरकार मात्रै नभएर सबै पक्ष समृद्धिको यात्रामा एक भएर अघि बढेको भन्दै देशलाई तीव्र गतिमा बिकास गर्न चाहेको बताउनुभएको छ। मुख्यमन्त्री राईले नयाँ भवनबाट उपभोक्तालाई सहज र सरल पारदर्शी तवरले काम गर्ने आशा व्यक्त गर्दै सँस्थाले सँस्थागत रुपमा गतिलो भवनबाट जबाफदेही, उत्तरदायी भई आजको प्रविधिसँग जोडिएर उपभोक्तालाई सेवा प्रदान गर्ने बिश्वास रहेको बताउनुभयो।

मुख्यमन्त्री राईले जनसंख्याको बढ्दो चापलाई ध्यानमा राखेर आफ्नो लक्ष्य र कार्ययोजना बनाउन र बिकासको पथमा अघि बढ्न सुझाव दिनुभएको छ। 

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवाले नयाँ भवन गज्जबको बनेको भन्दै खानेपानीको धारा वितरण र मर्मत गर्दा ठुलो खाडल खन्न नपर्ने गरी मर्मत गर्न आग्रह गर्नुभयो। उहाँले इटहरी खानेपानीमा भ्रष्टाचार भएको भन्ने आरोपहरुबारे ठोस प्रमाणसहित आउन आग्रह गर्नुभयो। ‘कसले खायो, कर्‍याककुरुक बाँधेर ल्याएर थन्काउन् न,’ उहाँले नेपालीको हलुका टिप्पणी गर्ने बानी नराम्रो भएको बताउँदै भन्नुभयो, ‘होइन भने त्यत्तिकै चरित्र हत्या गर्न पाइन्छ ?’

इटहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रामप्रसाद चौलागाईले सँस्थाको प्रगतिबारे जानकारी गराउनुभयो। साढे १८ हजार खानेपानी धारा वितरण भई दैनिक १८ घण्टा खानेपानी वितरण भईरहेको चौलागाईको भनाई छ।

अध्यक्ष चौलागाँईले संस्थाका कामलाई प्रविधिको प्रयोग गरी अघि बढाइएको जानकारी दिँदै आगामी दिनमा गर्ने कामहरुको बारेमा समेत जानकारी गराउनुभयो।

वि.स.२०५३ सालमा स्थापना भएको संस्थाको पुरानो भवन सानो भएपछि नयाँ निमार्ण गरिएको हो। भवन २०७५ सालमा सम्पन्न भएपनि विभिन्न कारणले औपचारिक रूपमा उद्घाटन गरिएको थिएन।

शनिवार मुख्यमन्त्री राईले शिलालेख अनावरण गरी भवनको उद्घाटन गर्नुभएको हो।

नेपाल सरकारको ७० प्रतिशत अनुदान र बाँकी ३० प्रतिशत संस्थाको गरी जम्मा ८९ लाख लागतमा भुईँतला निर्माण गरिएको थियो। बाँकी ३ तला निर्माणका लागि संस्थाको आफ्नै श्रोतबाट १ करोड ५० लाख रकम निर्माण गरिएको हो। १५वटा कोठा रहेको भवनमा ६० जना अट्न सक्ने बैठक कक्ष छ भने ३ सय जना अट्न सक्ने सभा हल समेत छ। अहिले संस्थाको सबै काम यसै भवनबाट हुँदै आएको छ।