काठमाण्डौ/ नेपाली कांग्रेसले दिवंगत नेता नवीन्द्रराज जोशीको सम्मानमा तीन दिन पार्टीको झण्डा आधा झुकाउने भएको छ। सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा शनिबार बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले जोशीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै चैत १५, १६ र १७ गते देशभरका पार्टी कार्यालयमा झन्डा आधा झुक्याउने निर्णय गरेको यस्तै, १७ गते एकदिन देशभरका पार्टी कार्यालय बन्द गर्ने निर्णय पनि गरेको छ। तीन दिन शोकसभा बाहेक कार्यक्रम पनि नगर्ने भएको छ । यस्तै, १३ दिनसम्म सबै पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै जोशीप्रति एक मिनेट मौनधारण गरि बैठक सकिएको छ। मौसम खराबीका कारण बिराटनगरमा रहनुभएका बरिष्ठ नेता रामचन्द्र पौडेल भने बैठकमा सहभागी हुन सक्नुभएन।

शोक प्रस्ताव र निर्णय
१. नेपाल बिद्यार्थी संघका पूर्व महामन्त्री, काठमाडौं महानगरपालिकाका पूर्व उप–मेयर, संविधानसभा सदस्य, पूर्व मन्त्री, नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य एवं पार्टीका नेता नविन्द्रराज जोशीको काठमाडौंको नर्भिक अस्पतालमा उपचारका क्रममा हिजो २०७७ चैत्र १३ गते राति ८ः२४ बजे असामयिक निधन भएको छ। नेपालको लोकतान्त्रिक आन्दोलनमा चार दशक भन्दा लामो समय अनवरत संघर्षरत अथक योद्धा नविन्द्रराज जोशीको निधनबाट नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ।

राजनीतिलाई सधै जनताको सेवा गर्ने भावना र अवसरका रुपमा लिने सरल, बौद्धिक र क्षमतावान नेता जोशी नेपाली कांग्रेसमा निष्ठावान राजनीतिज्ञका रुपमा परिचित हुनुहुन्थ्यो। लोकतान्त्रिक आन्दोलनका क्रममा स्वर्गीय जोशीले पटक–पटक गरी करीब एकबर्ष जेल जीवन समेत व्यतित गर्नुभएको थियो। पार्टीको बिभिन्न तहको बिभिन्न पदमा रही स्वर्गीय जोशीले नेपाली कांग्रेसलाई सुदृढ एवं गतिशील बनाउन महत्वपूर्ण योगदान गर्दै नेपालमा लोकतन्त्र पुनस्र्थापनाको आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुका साथै शैक्षिक एवं सामाजिक क्षेत्रमा समेत उल्लेखनीय योगदान पु¥याउनु भएको थियो। उहाँको सकृय योगदान पार्टीको इतिहासमा सदा स्मरणीय रहनेछ। नेपाली कांग्रेसले एक कुशल संगठक र सिङ्गो मुलुकले एक क्षमतावान नेतृत्वलाई गुमाएको छ। उहाँको निधनबाट पार्टी र सिङ्गो मुलुकलाई अपूरणीय क्षति पुगेको छ। नेता जोशीको निधनप्रति नेपाली कांग्रेसको यो आकस्मिक बैठक गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ। साथै, उहाँको आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछ ।

२. स्वर्गीय जोशीप्रति सम्मान प्रकट गर्दै शोकका देहाय बमोजिमका कार्यक्रमहरु निर्धारण गरिएको छ।
(क) २०७७ चैत्र १५, १६ र १७ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, ती दिनहरुमा शोकका कार्यक्रमहरु बाहेक पार्टीका अरु औपचारिक कार्यक्रमहरु नगर्ने। २०७७ चैत्र १७ गते मंगलबारका दिन केन्द्र तथा सबै जिल्ला कार्यालयहरु बन्द गर्ने।
(ख) स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राख्ने।
(ग) उहाँको स्वर्गारोहणको १३ औँ दिनमा केन्द्र र सबै जिल्लामा भौतिक दुरी कायम गर्दै शोकसभा गर्ने।

–रातोपाटी