केराबारी/ मोरङको केराबारी ७ का महिला स्वरोजगार हुने क्रम शुरु भएको छ। वडा कार्यालय केराबारी ७ ले दिएको सिपमुलक तालिमपछि स्थानीय महिलाले ब्यवसाय शुरु गरेका हुन्।

केहि समय अगाडी वडा कार्यालयले महिला आत्मनिर्भर कार्यक्रम अन्तरगत ब्याग बनाउने तालिम सञ्चालन गरेको थियो। सो तालिममा स्थानीय २० जना महिलाले तालिम लिएका थिए। सो तालिमपछि त्यहि तालिममा सहभागी भएका मध्य १० जनालाई एक्टिभ नेपाल नाम गरेको सँस्थाले दोश्रो चरणको तालिम दिएको थियो। IMG_9710

सोहि तालिममा सहभागि केराबारी ७ की यशोदा न्यौपाने(तिम्सिना)ले अहिले केराबारी ७ स्थित दाहाल चौकमा ब्याग उद्योगका साथै फेन्सि पसल सञ्चालन गरेकी छन्।

तिम्सिनाको ब्याग उद्योगमा उनले दैनिक तीनवटा सम्म ब्याग तयार गर्ने गरेकी छन्। उनले उत्पादन गरेको ब्याग स्टक नरहने गरेको भन्दै उनले खुसी ब्यक्त गरेकी छन्। IMG_9707

त्यसो त तिम्सिनाले तालिमपछि १६ प्रकारका झोला बनाउने तालिम लिएकी छन्। उनको उत्पादनमा अहिले ह्याण्ड ब्याग, लेडिज पर्स अनि तरकारी बोक्ने झोला धेरै खपत हुने गरेको छ।

तिम्सिनासँगै तालिम लिएका अन्य २/३ जना स्थानीय महिलाले पनि संयुक्त रुपमा ब्याग उद्योग नै खोल्ने तयारी गरेका छन्।

खुसी छन् वडाध्यक्ष नारायण चेम्जोङ्ग
केराबारी ७ का वडाध्यक्ष नारायण चेम्जोङ्गले वडा कार्यालयले सञ्चालन गरेको तालिमबाट स्थानीय महिला स्वरोजगार बन्न थालेपछि खुसी ब्यक्त गरेका छन्। वडाध्यक्ष चेम्जोङ्गले तालिम उपलब्धीमुलक बनेको भन्दै खुसी ब्यक्त गरेका हुन्। IMG_9713

यस्ता खाले तालिमले स्थानीयको जीवनस्तर उकास्न भूमिका निर्वाह गर्ने भन्दै वडाध्यक्ष चेम्जोङ्गले कपडाका झोला बोक्ने बानिले प्लाष्टिकका झोला प्रयोगमा न्युनिकरण गर्न सकिने भन्दै महिलालाई अझ उत्साहित बनाएको बताउछन्।