बिराटनगर/ बलात्कार आरोपमा विवादित धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिने सुनसरी जिल्ला अदालतको फैसलाबिरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता गराएको छ। सिद्धबाबाको सफाइ फैसलाबिरुद्ध बिराटनगरस्थित उच्च अदालतमा आइतबार पुनरावेदन दर्ता गराइएको हो।

सिद्धबाबाको सफाइ फैसलाबिरुद्ध बिराटनगरस्थित उच्च अदालतमा आइतबार पुनरावेदन दर्ता गराइएको उच्च सरकारी वकिलको कार्यालय बिराटनगरका प्रमुख ज्ञानचन्द्र भुसालले जानकारी दिनुभयो।

मुद्दा दर्ता भएकै दिन उच्च अदालतले मुद्दाको सक्कल मिसिल झिकाउन सुनसरी जिल्ला अदालतलाई पत्राचार गरेको छ। मिसिल आएपछि मुद्दा प्रक्रियामा जाने उच्च अदालत बिराटनगरका सूचना अधिकारी ओम सुवेदीले जानकारी दिनुभयो।

गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीले प्रतिवादी पक्षका कानुन व्यवसायीको एकतर्फी बसहपछि गिरीलाई सफाइ दिने फैसला गरेको थियो। फैसलाको दुई महिनापछि पूर्णपाठ आएको थियो।

गिरीलाई सफाई दिने फैसला सुनाएका जिल्ला अदालत सुनसरीका न्यायाधीश अर्जुनप्रसाद कोइराला उच्च अदालतको न्यायाधीश नियुक्तिमा सिफारिस भएका छन्।

महिलाको चरित्रमाथि प्रश्न उठाएको अदालतको फैसलाको पूर्णपाठमा जाहेरवाली र प्रतिवादीबीच आदान–प्रदान भएका म्यासेजहरुबाट सहमतिमा शारीरिक सम्पर्क भएको भन्ने देखिएकाले अभियोग दाबी बमोजिम जबर्जस्ती करणीको कसूर कायम गर्न मिल्ने नदेखिएको भनिएको छ।

सिद्धबाबाविरुद्ध २०७६ मंसिर ११ गते बलात्कार गरेको भन्दै उनकै भक्त एक महिलाले किटानी जाहेरी दिएकी थिइन्। प्रहरी हिरासतको समय अवधि बिराट नर्सिङहोममा बिताएका गिरीलाई तत्कालीन जिल्ला न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले १४ पुस २०७६ मा तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो।

जिल्लाको आदेशबिरुद्ध सरकारी वकिलको कार्यालयले उच्चमा पुनरावेदन दिएको थियो। ९ माघ २०७६ मा उच्च अदालत बिराटनगरमा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश प्रेमराज कार्कीको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाउँदै थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको थियो।

आदेश आएकै दिन भारत प्रवेश गरेका गिरी ४० दिनपछि फर्किएर हिरासतमा बसेका थिए। गत मंसिर २२ गतेको फैसलापछि भने उनी छुटेका थिए।

नेपाल प्रेसबाट