वीरगञ्ज/ सरकारले बङ्गलादेशबाट किनेको रसायनिक मल वीरगञ्जस्थित सुख्खा बन्दरगाहमा आइपुगेको छ। सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा मंगलबार दिउसो जीटुजी (सरकार–सरकार)मार्फत् गरेको सम्झौता अनुरूप किनेको रसायनिक मल युरिया आइपुगेको हो।

कृषि सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जका प्रादेशिक प्रबन्धक गोरखनाथ केसीले किनेको मलमध्ये २५ सय बोरा आइपुगेको जानकारी दिनुभयो। सुख्खा बन्दरगाहमा धमाधम रेल–वेबाट भन्सार यार्ड र गोदाममा मल राख्ने काम भइरहेको छ। भोलिदेखि नै कृषि सामग्री केन्द्र लिमिटेडको वीरगञ्जस्थित गोदामहरुमा, वीरगञ्ज बाहिर जानेलाई ट्रकले ओसार्ने काम सुरु गरिने प्रबन्धक केसीले बताउनुभयो।

पहिलो चरणमा आउन थालेको २२ हजार पाँच सय मेट्रिक टन युरिया मलमा वीरगञ्जका लागि नौ हजार मेट्रिक टन, विराटनगरका लागि पाँच हजार ६२५ मेट्रिक टन र भैरहवाका लागि पनि सात हजार ८७५ मेट्रिक टन मल रहेको छ।

धानको सिजनमा युरिया मलको अभाव भएपछि तत्कालका लागि सुरुमा बङ्गलादेशबाट पैँचोमा ५० हजार मेट्रिक टन युरिया मल ल्याउने सहमति भए पनि पैँचो मल दिने प्रक्रिया झन्झटिलो भएको बङ्गलादेशले जनाएपछि सरकार–सरकारबीच सम्झौता गरी खरिद गरेर नै मल ल्याइएको छ।

जनता टाईम्स