काठमाडौं/ माइतीघर मण्डलामा आइतबार साँझ एउटा नयाँ नारा घन्कियो । झण्डै तीन वर्षदेखि बिरानो हुँदै गएको नेकपा (एमाले) भन्ने शब्दावली आज एक्कासि बढी प्रयोग भएको छ।

सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकता भंग गरेको फैसला गरेपछि एमाले पार्टीका नेता र जनवर्गीय संगठनका कार्यकर्ताहरू उत्साहित भएर एमाले र सूर्य चिन्ह अंकित झण्डासहित ठाउँठाउँमा निस्किएका छन्। यसैक्रममा माइतीघर मण्डलामा अनेरास्ववियूका कार्यकर्ताहरूले एउटा गीत घन्काएका छन्, ‘गाउँबेसी शहर, एमालेको लहर।’

दीप प्रज्जवलन तथा कोणसभामा अनेरास्ववियूका संयोजक ऐन महरले नेकपा (एमाले) कम्युनिष्ट आन्दोलनको मूल प्रवाह भएको बताउनुभएको छ।

महरले तीनबर्ष अघि वृहत कम्युनिष्ट आन्दोलनको परिकल्पना गर्दै प्रधानमन्त्री ओलीले माओवादीसँग पार्टी एकता गरेको बताउनुभयो। ‘त्यसलाई पार्टी एकता भने पनि वास्तवमा त्यो एमालेमा माओवादीको समायोजन थियो,’ महरले भन्नुभयो ।

माओवादीलाई अस्तित्व जोगाइदिन केपी शर्मा ओलीले सहारा दिएकोमा अहिले नै पार्टी कब्जा गर्न खोज्दा अहिलेको परिणाम भोग्नु परेको बताउनुभयो । उहाँले अब नेकपा एमाले र सूर्य चिन्ह आफ्नो भएकोले यसले देशैभरी खुसीको सञ्चार गरेको बताउनुभयो ।

-नेपाली बहस