सुनसरी/ सुनसरीको इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले यहि आर्थिक बर्ष भित्रमा इटहरीका सबै वडामा आधारभूत स्वास्थ्य सुविधा पुग्ने बताउनुभएको छ । इटहरी ८ मा स्वास्थ्य इकाइ भवनको शिलान्यास गर्दै मेयर चौधरीले यसो भन्नुभएको हो।

उहाँले वडाबासीले वडाबाटै आधारभूत स्वास्थ्य सेवा पाउने बताउनुभएको छ। यो बर्ष १४ वटा स्वास्थ्य इकाई भवन निर्माण भएर ती भवनहरुवाट सेवा दिइने छ।

कार्यक्रममा उपप्रमुख लक्ष्मी गौतमले तीन महिनामा स्वास्थ्य इकाई भवन निर्माण भइसक्ने बताउनुभयो। उहाँले आवश्यक स्वास्थ्यकर्मी र फर्निचरलगायतका सामाग्री तयारी अवस्थामा रहेको बताउनुभयो।

वडाध्यक्ष नर बहादुर राईले आफ्नै वडाबाट स्वास्थ्य सेवा पाउनु खुशीको कुरा भएको बताउनुभयो ।

स्वास्थ्य शाखा प्रमुख घनश्याम सिग्देलले सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन उपमहानगर लागि परेको बताउनुभयो ।

इन्जिनियर जीवन घिमिरेले २७ लाख २६ हजारमा चार कोठे भवन बन्ने जानकारी दिनुभयो।