केराबारी/ मोरङको केराबारी ७ नर्कर्टेस्थित भागिमान लिम्बुको घरमा स्थानीय यूवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन्। लिम्बुकी छोरीको बिबाहमा स्थानीय यूवाले आक्रमण गर्दा बेहुलीका बुवासहित चारजना घाइते भएका हुन्।

आक्रमणबाट बेहुलीका बुवा ५९बर्षीय भागीमान, बेहुलीकि दिदी ३० बर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५बर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ बर्षीय रमेश राई घाइते भएका हुन्।

नर्कटेकी २३ बर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईको शुक्रबार राति बिवाह थियो । बिवाह सकिएपछि आफन्त सुतेको समयमा आएको यूवा समूहले आक्रमणपछि लुटपाट गरेको प्रहरीले जनाएको छ। बेहुला, बेहुली र अन्य पाहुनाले भागेर ज्यान जोगाएको स्थानीयले पूर्वी खबरलाई जानकारी दिएका छन्।

आफन्तले लुटपाट भएको बताएपनि प्रहरीमा भने लुटपाटको जानकारी नआएको मोरङका प्रहरी उपरिक्षक सन्तोष खड्काले बताउनुभयो। बिवाह घरमा आएको सो समूहले आक्रमण गरी सुनचाँदीका गरगहना र बिवाहमा संकलन भएको नगद २ लाख ३५ हजार ५सय ४० रुपैँया पनि लुटेको केराबारी ७का वडाध्यक्ष नारायण चेम्जोङले पूर्वीखबरलाई जानकारी दिनुभयो।

घाईतेहरुको न्यूरो अस्पताल बिराटनगरमा उपचार भईरहेको र बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर छ। उनीहरुको टाउको, खुट्टा, हातलगायत शरीरका बिभिन्न भागमा गहिरो चोट छ । प्रहरीका अनुसार भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ। उनको छातीमा भाला पनि प्रहार भएको प्रहरीले जनाएको छ।

बिवाहमा नाच्न नपाउँदा झगडा, बरण्डाबाट चढेर आक्रमण
बैवाहिक कार्यक्रममा राति १० बजेतिर मादक पदार्थ सेवन गरी पुगेको सोबसमूहले साउण्ड सिस्टम बजाएर नाच्न पाउनुपर्ने भन्दै विवाद गरेको थियो। बिवाह घरमा रहेकाले सम्झाएपछि गएको समूह पुनः फर्केर आएर होहल्ला गरेको थियो। आक्रमण गर्ने शैलीमा आएपछि आफन्तले प्रहरीलाई खबर गरेका र राति करिब १ बजे स्थानीयले उजुरी गरेपछि प्रहरी पुगेको थियो।

प्रहरीलाई देखेपछि भागेको समूह प्रहरी फर्किएपछि पुनः घरमा पुगेर आक्रमण गरेको थियो। प्रहरी फर्किएको केहीबेरमा सो समूह घरको बरण्डाबाट चढेर अन्धाधुन्ध आक्रमण गरेको स्थानीयको भनाई छ।

सो समुहले खुकुरीले हानेर घरको झ्याल र ढोका काट्दै सुतिसकेकालाई ओछ्यानमै पुगेर आक्रमण गरेको थियो। आक्रमणपछि बिहेघरमा भागदौड मच्चिएको थियो।

आक्रमणकारी सबै केराबारीकै
आक्रमण गर्ने सबैजना केराबारीकै रहेको बुझिएको छ। आक्रमण र लुटपाटमा केराबारी–७ का २८बर्षीय मुस्कान चेम्जोङ, २५बर्षीय निशान चेम्जोङ, ३०बर्षीय बिश्वास लिम्बू, केराबारी–८ का २२बर्षीय भाइराजा लिम्बूलगायतको संलग्नता देखिएको प्रहरीले जनाएको छ। लुटपाट गरी फरार भएको समूहको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभएको छ।

केराबारी ७ को अर्को घरमा पनि लुटपाट
केराबारी ७ स्थित मुगु आधारभुत बिद्यालय नजिकैपनि गएराति नै लुटपाट भएको छ। स्थानीय गणेश बहादुर बिश्वकर्माको घरमा लुटपाट भएको वडाध्यक्ष नारायण चेम्जोङले जानकारी दिनुभयो।

लुटेरा समुहले बिश्वकर्माकी श्रीमती उर्मिलाले लगाएको सुनको एक तोलाको सिक्री र नगद ४० हजार लुटेको वडाध्यक्ष चेम्जोङले बताउनुभयो। लुटेरा समुहले उमिर्लालाई केहि बस्तु सुँघाएर लठ्ठ पारी लुटपाट गरेको चेम्जोङले बताउनुभयो।

उमिर्लाका श्रीमान् घरमा नभएको मौका पारेर लुटेरा समुहले लुटपाट गरेको स्थानीयले बताएका छन्। लुटपाटमा संलग्नहरु बिहेघरमा लुटपाट र आक्रमण गर्नेहरु नै हुनसक्ने स्थानीयको आशंका छ।