सुनसरी/ सुनसरीको इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले यो बर्ष इटहरीमा एक अर्ब बढिको भौतिक संरचना निर्माण हुने बताउनुभएको छ। इटहरी वडा नम्वर ३ को वडा कार्यालय भवन शिल्यान्यास गर्दै प्रमुख चौधरीले त्यसो भन्नुभएको हो।

उहाँले इटहरीमा गत बर्ष भन्दा बढि भौतिक निर्माण हुने बताउनुभयो। उहाँले ८५ करोडका योजना टेण्डर गरिसकिएको बताउनुभयो। ४० भन्दा बढि बहुबर्षे योजनासमेत टेण्डर प्रक्रियामा रहेको जानकारी दिनुभयो। मेयर चौधरीले गत बर्ष शुरु भएको पाँचवटा बहुवर्षे सडक निर्माण भईसकेको बताउनुभयो।

प्रमुख चौधरीले कोरोना महामारी र प्रतिकुल राजनीतिक अवस्थाका बावजुद पनि इटहरीमा बिकासले गति लिएको जनाउनुभयो। उहाँले नेकपामा देखिएको बिग्रहले इटहरीको बिकासमा कुनै प्रभाव नपार्ने दोहोर्‍याउनुभयो ।

यस्तै उपप्रमुख लक्ष्मी गौतमले इटहरीमा हुने बिकास निर्माणको गुणस्तरमा कुनै सम्झौता नहुने बताउनुभयो। उहाँले निर्माण कार्य भईरहँदा जनस्तरबाट पनि खबरदारी हुनुपर्नेमा जोड दिनुभयो।

वडा नम्बर ३का वडाध्यक्ष बालकृष्ण बिष्टले वडा नम्वर तीनमा भौतिक निर्माणको कार्यले गतिलिएको बताउनुभयो।

उपमहानगरका इन्जिनियर जीवन घिमिरेले ८४ लाख ३५ हजारको लागतमा भूकम्प प्रतिरोधी तथा अपाङ्गतामैत्री वडा कार्यालय भवन निर्माण हुने बताउनुभयो।

भट्टराई परिवारद्वारा १ करोडको जग्गा प्रदान
इटहरी वडा नम्वर तीनको वडा कार्यालय भवन निर्माणका लागि स्थानीय बल बहादुर भट्टराईको परिवारले करिव एक करोड रुपैँया पर्ने डेढ कठ्ठा जग्गा प्रदान गरेको छ।

सोहि जग्गामा इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले वडा कार्यालय भवनको शिल्यान्यास गर्नुभयो। भट्टराई परिवारले वडा कार्यालय भवन निर्माणका लागि जग्गा प्रदान गर्नुभएकोमा प्रमुख चौधरीले धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा भट्टराई परिवारका सदस्यहरुलाई दोसल्ला र माला लगाएर सम्मानसमेत गरिएको छ।