काठमाण्डौ/ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित भएको छ। गृहकार्य गर्नुपर्ने भएकोले केहीदिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको हो।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले गृहकार्य गर्नुपर्ने भएकोले केही दिनका लागि स्थायी कमिटी बैठक स्थगित गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्रीको निवास बालुवाटारमा आज(बिहिबार) पनि बैठक बस्ने गरी बुधबार स्थायी कमिटी बैठक सकिएको थियो।

बुधबार बसेको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै प्रतिनिधिसभा बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न पार्टीको केन्द्रीय कमिटीको बैठक र संसदीय दलको बैठक बोलाउने र सर्वोच्च अदालतको संवैधानिक इजलासले गरेको फैसलापछि पनि पार्टीले देशका बिभिन्न भागमा निर्धारित कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको थियो।