काठमाण्डौ/ नेपाल सरकारले माटोको डिजिटल नक्सा तयार गरेको छ। माटोमा रहेका बिभिन्न तत्व वा गुणहरु देखाउनका लागि जीपीएमका माध्यमबाट कम्प्युटर प्रविधिको प्रयोग गरी तयार पारिएको नक्सा नै माटोको डिजिटल नक्सा हो।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार देशैभरको माटोको डिजिटल नक्सा तयार गर्ने नेपाल दक्षिण एशियाकै पहिलो देश हो। दक्षिण एशियाका अन्य देशहरुमा पनि यो प्रविधिको माटोको नक्सा तयार ती केही जिल्ला, प्रदेश वा क्षेत्रमा मात्र सिमित छन। त्यसअनुसार देशैभरको माटोको नक्सा तयार गर्न नेपाल पहिलो बनेको हो।

प्रधानमन्त्री केपी शर्मा ओली बुधवार नक्सा सार्वजनिक गर्नुभयो। नक्सा सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जुनसुकै अवस्थामा पनि देश बनाउने आफ्नो लक्ष्यमा कुनै फेर बदल नआउने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वार्थबाट लपेटिएका मानिसहरुमा यस्ता कुराले धेरै फरक पारेपनि आफूलाई फरक नपरेको प्रष्ट पार्नुभएको हो।

प्रधानमन्त्री ओलीले माटोको जिडिटल म्यापिङले नेपाली कृषिमा एउटा नयाँ युगको सुरुवात गरेको बताउनुभयो। ‘माटोमा कुन पोषक तत्व छ, कुन पोषक तत्व छैन वा बढी छ। रोग के छ र के गर्नुपर्छ भन्ने कुरा किसानले सजिलोसँग थाहा पाउनसक्छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले देशमा पर्याप्त उत्पादन भएपनि आयातित लाम्चो दाना भएको चामल तथा आयातित खानेकुरा बजारबाट किनेर खाने बानी हटाउनुपर्ने सुझाव पनि दिनुभयो। ‘हामीसँग प्रशस्त खाद्यबाली छ तर हामीलाई लामा सिता भएका पातलो चामल चाहिन्छ। खाने होइन ज्यूनार गरेजस्तो लाग्ने, भात होइन भूजा जस्तो लाग्ने’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यो त्यही मोटो चामललाई पेलेर लामो, पातलो बनाइएको नक्कली चामल हो। कुनै धान देख्नुभएको छ एक इञ्च लामो ? त्यो सब धोका हो। पेलेर लामो बनाइएका हुन्। सब नक्कली हुन्।’

देशमा ६५ प्रतिशत जनता कृषिमा आधारित भएपनि राष्ट्रिय आयमा २७ प्रतिशत मात्र योगदान रहेको भन्दै उहाँले प्रतिशतको तुलना अलि नमिलेको बताउनुभयो। कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी बिकास मन्त्री पद्मा अर्यालले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्नेतर्फ माटोको डिजिटल म्यापिङ महत्वपूर्ण फड्को भएको बताउनुभयो।