काठमाण्डौ/ दुई महिनाको बहसपछि प्रतिनिधिसभा बिघटनबिरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दै’ मा पेसी तोकिएको छ। फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन दिएको समयावधि पनि सकिएपछि सर्वोच्चले मंगलबार मुद्दाको पेसी ‘हेर्दाहेर्दै’ मा तोकेको हो।

इजलासको आदेशअनुसार सोमबार अधिबक्ताहरूले बहस नोट बुझाएका छन्। पुष ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले प्रतिनिधसभा बिघटन गरेपछि ६गते नै सर्वोच्च अदालतमा मुद्दा परेको थियो।

सो मुद्दालाई सर्बोच्च अदालतको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीशहरु बिश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको इजलासले सुनुवाइ गरेको थियो।

सो मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि सकिएको थियो। त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए। इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यहरुले पनि आफ्नो राय दिएका थिए।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले मुद्दामा बहस सकिएसँगै जुनसुकै समय फैसला आउन सक्ने बताउनुभएको थियो। ‘हेर्दाहेर्दै’ सकिएको अवस्थामा फागुन ११ गते अर्थात आज मंगलबार नै पनि फैसला आउन सक्ने राणाले बताउनुभएको थियो।

फैसलाको अन्तिम तयारीमा अदालत जुटेसँगै सबैको ध्यान सर्वोच्चतिरै केन्द्रित हुन थालेको छ। पाँच सदस्यीय संवैधानिक इजलासमा सकेसम्म एउटै रायमा निर्णय सुनाउने प्रयास हुनेछ। त्यसो हुन नसकेमा बहुमत न्यायाधीशहरुको रायका आधारमा फैसला सुनाइने जनाईएको छ।