इटहरी/ मानिस भएकै घरमा दिउसै पसेर लाखौका गहनासहित बिभिन्न सामान चोर्ने हेटौँडाका मनिष घिमिरे इटहरी २ बाट पक्राउ परेका छन्।इलाका प्रहरी कार्यालय इटहरीले २९ बर्षीय घिमिरेलाई स्थानीयको सहयोगमा बिहिबार पक्राउ गरेको हो।

मकवानपुरको हेटौँडा नगरपालिका २ घर भएका घिमिरेले इटहरी २ भद्र टोलस्थित सावित्रा भण्डारीको घरमा सुनचाँदीका गरगहना र नगद चोरी गरेको इटहरी प्रहरीले शुक्रबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

प्रहरीले घिमिरेलाई बिहिबार दिउँसो पक्राउ गरेको हो। स्थानीय इम्पेरियल होटल परिसरबाट पक्राउ परेका घिमिरेको साथबाट हरियो रातो पोतेसहितको सुनको छड्के तिलहरी एउटा, रातो पोतेसहितको सुनको माइली तिलहरी एउटा, रातो पोतेसहितको सुनको सानो तिलहरी एउटा, कालो पोतेसहितको सुनको ६वटा दानाजडित मंगलसुत्र एउटा बरामद गरेको छ।

यस्तै पक्राउ परेका घिमिरेको साथबाट सुनको चुराको चारवटा टुक्रा, एउटा रातो पत्थर लगाएको सुनको लेडिज औठी, पेचसहितको रातो यु लगाएको कानमा लगाउने झुम्का एक जोर, सुनको सानो लेडिज औँठी एउटा, लकेटमा गुलाबी रङको पत्थर लगाएको सुनको सिक्री एउटा, एउटा सुनको सिक्री, शिवजीको तस्बिर भएको लकेटसहितको सुनको सिक्री एउटा र शंखको चिन्ह अंकित कानमा लगाउने झुम्का एक जोर बरामद गरेको छ।

प्रहरीले घिमिरेको साथबाट रातो पत्थर लगाएको भाँचिएको अवस्थाको सुनको लेडिज औठी एउटा, सुनको कानमा लगाउने लेडिज जुली एउटा, चाँदीको पाउजु एउटा, सुनजस्तो देखिने पहेलो ग्यारेन्टीवाला कानमा लगाउने झुम्का एकजोर, सुनजस्तो देखिने ग्यारेन्टीवाला पन्चरत्नजडित लेडिज औँठी एउटा, दुईवटा जेन्स घडी बरामद गरेको छ।

यस्तै डिल्लीबहादुर भण्डारीको नामको सानिमा बैंकको एटिएम कार्ड एउटा, एनआईसी एसिया बैंकको सावित्रा भण्डारीको नामका काटिएको १८ लाख रकम भरेको तीनवटा चेक, हिरो लेखिएको एउटा चाबी, विश्व आदर्श कलेज लेखिएको भिर्ने झोला एउटा र नगद ६० हजार चार सय ५० रुपैयाँसमेत घिमिरेको साथबाट प्रहरीले बरामद गरेको छ।

पक्राउ परेका घिमिरेलाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहररुीले जनाएको छ।