सुनसरी/ अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा भईरहेको १३बर्ष भन्दा मुनिका उमेर समुहको खेलाडी छनौट अन्र्तगत सुनसरीबाट ३५जना छानिएका छन्। अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले इटहरी ९स्थित जनता स्कूलको मैदानमा बिहिबार र शुक्रबार गरेको छनौट कार्यक्रमबाट ३५ जना १३बर्ष मुनिका खेलाडी छानेको हो।

एन्फा सुनसरी अध्यक्ष केशव कार्कीका अनुसार १ सय २५ जनाको समुहबाट ३५जना छनौट गरिएको हो। जिल्ला छनौटका लागि सहभागी भएका १ सय २५ जना खेलाडी धरान, इटहरी, दुहबी, इनरुवा र बराहक्षेत्रबाट छनौट भएर आएका मध्येका हुन्। सुनसरी जिल्लाबाट छनौट भएका ३५जना खेलाडीले प्रदेश छनौटका लागि प्रतिष्पर्धा गर्न पाउने छन्।

छनौटमा सहभागीहरुको जन्मदर्ताका साथै खेल प्रदर्शन हेरेर मात्र खेलाडी छनौट गरिएको एन्फा सुनसरीका प्रशिक्षक श्याम मानन्धरले बताउनुभयो। १३बर्ष भन्दा मुनिका खेलाडी सो खेलमा सहभागी हुनको लागि २०६५ असोज १५ देखि २०६६ असोज १५गतेभित्र जन्मिएको हुनुपर्ने प्रावधान थियो। सहभागीहरुलाई समुह समुह बनाएर प्रतिस्पर्धा गराइएको मानन्धरले जानकारी दिनुभयो।

एन्फाले २०७८ सालदेखी क्लबहरुसँग सहकार्य गरेर एकेडेमी सञ्चालन गर्ने भएको छ। ए डिभिजन क्लबहरुले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नको लागि ए.एफ.सि.लाइसेन्स लिनुपर्ने हुन्छ। लाइसेन्स प्राप्त गर्नको लागि एकेडेमी सञ्चालन गर्नुपर्ने मापदण्ड छ। त्यसैले एन्फाले क्षेत्र, जिल्ला, प्रदेश हुदै राष्ट्रिय छनौटबाट छानिएका उत्कृष्ट बाल खेलाडीहरु ती क्लबले सञ्चालन गर्ने एकेडेमीमा पठाउनका लागि खेलाडी छनौट थालिएको एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले बताउनुभयो।

बिभागीय टोली त्रिभुवन आर्मी, सशस्त्र प्रहरी र जनपथ प्रहरी र केही ए डिभिजन क्लबहरुले पनि एकेडेमी राख्ने तयारी गरेका छन्। ती एकेडेमीमा यो छनौट कार्यक्रमबाट छानिएका उत्कृष्ट खेलाडीहरु रहने छन्।