सांकेतिक तस्विर

काठमाण्डौ/ महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ। राष्ट्रपति बिद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका डीएसपी दुर्गाराज रेग्मीको नेतृत्वमा खटिएको दर्जन बढी प्रहरी अधिकारीहरुले झाँक्रीलाई घरैबाट पक्राउ गरेको हो।

यसअघि महाशाखाले झाँक्रीलाई सोधपुछका लागि बोलाएको भएपनि पक्राउ पूर्जीबिना जान अस्वीकार गरेकी थिइन्। महाशाखाले राज्यबिरुद्धको कसूरमा अनुसन्धान गर्न भनी झाँक्रीलाई पक्राउ पूर्जी पनि दिएको छ।

गोरखामा केहि साता अघि भएको एक कार्यक्रममा झाँक्रीले निम्न स्तरका शब्द प्रयोग गर्दै राष्ट्रपतिबारे तल्लो स्तरका टिप्पणी गरेकी थिईन। सोहि बिषयलाई लिएर नेकपा ओली समूहसम्बद्ध अखिल नेपाल महिला संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो।

झाँक्रीको पक्राउको बिरोधमा उनको निवासबाहिर दाहाल नेपाल समूहका कार्यकर्ता भेला भएका थिए। पक्राउ पर्नुअघि उनले सम्बोधन गर्दै आफू राज्यको कानुनको पालक भएको बताएकी थिइन् ।

महाशाखाका प्रमुख एसएसपी दीपक थापाले अखिल नेपाल महिला संघले दिएको उजुरीका आधारमा झाँक्रीलाई नियन्त्रणमा लिइएको बताउनुभएको छ।