काठमाण्डौ/ प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार(आज) आफैं निर्वाचन आयोगमा जाने हुनुभएको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल,अर्थमन्त्री बिष्णु पौडेल र नेता सुवास नेम्वाङसहित निर्वाचन आयोग गएर चुनावको तयारी र नेकपाको कानुनी विवादबारे छलफल गर्न लाग्नुभएको हो।

ओली पक्षीय नेकपाको तर्फबाट निर्वाचन आयोगसँग समन्वय गर्ने जिम्मेवारी पाउनुभएका नेता नेम्वाङले भने प्रधानमन्त्री नेकपा विवादको बारेमा छलफल गर्न नभई निर्वाचन आयोगको तयारीका बारेमा बुझ्न जान लाग्नुभएको हो।

उहाँले भन्नुभयो, ‘कतिपयले नेकपाको आधिकारिकताबारे छलफल गर्ने भनेर बुझेका होलान् तर उहाँ वैशाख १७ र २७ गतेको निर्वाचनको तयारी के छ र सरकारको तर्फबाट के सरसहयोग आवश्यक पर्छ भनेर छलफल गर्न जान लाग्नुभएको हो । त्यसैले उपप्रधानमन्त्री र अर्थमन्त्री पनि जाँदै हुनुहुन्छ ।’

नेम्वाङले नेकपाको विवादबारे एकचरण निर्वाचन आयोगले टुंगो लगाइसकेको र अध्यक्ष केपी ओलीले आधिकारिकता मागेर जाने कुरा नहुने बताउनुभयो। यसअघि निर्वाचन आयोगले नेकपाका दुवै अध्यक्षलाई निर्वाचन तयारीबारे छलफल गर्न बोलाएको थियो ।

त्यसबेला ओलीको तर्फबाट महासचिवव पौडेल र नेम्वाङसहित ७ जना नेता छलफलमा भाग लिन जानुभएको थियो। यस्तै पुष्पकमल दाहालको पक्षबाट गएका राजेन्द्र पाण्डे,लिलामणी पोखरेललगायतका नेताले पत्र बुझाएर फर्किएका थिए।

त्यसको केही दिनपछि यस्तै पुष्पकमल दाहाल र माधवकुमार नेपाल नेकपाको आधिकारिकता आफूहरुले पाउनुपर्ने लिखित माग लिएर आयोगमा गएका थिए। आयोगले त्यसको सुनुवाई गरिरहेको छ।

(हामीले प्रस्तुत समाचार नेपाल प्रेसबाट साभार गरेका हौँ-सम्पादक)