इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले चालु आर्थिक बर्षको पुष मसान्त सम्ममा १६ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले १० बर्षदेखि १४ बर्ष सम्मका २ जना र १४ बर्षदेखि १८ बर्ष सम्मका १४ जना पक्राउ गरेको हो।

जसमा १४ बर्षदेखि १८ बर्ष सम्मका नावालक दुईवटा चोरी मुद्दामा ८जना, तीनवटा बलात्कार घटनामा तीनजना, बिष्फोटक पदार्थ(पटका) ओसारपसारमा एकजना, लागुऔषध मुद्दामा एकजना र ज्यान मार्ने उद्योगमा एकजना पक्राउ परेका छन्। यसैगरी १० बर्षदेखि १४बर्षसम्मका २ जना बलात्कार मुद्दामा पक्राउ परेका छन्।

उल्लेखितलाई के सजाय भयो त ?
माथी उल्लेखित नाबालक मध्य एकजनालाई सुनसरी जिल्ला अदालतले धरौटीमा छोडेको छ। चारजनालाई बालसुधार गृहमा पठाएको छ। अन्य ११ जनालाई भने अभिभावकको जिम्मा लगाएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरिक्षक केशव कटवालले जानकारी दिनुभयो।

यस्तो छ सजायको ब्यवस्था
१) यदि १० बर्ष मुनिको बालकले अपराधकर्म गरेमा त्यस्ता बालकलाई सजाय नै नहुने अनि मुद्दा नै नचलाईने प्रावधान छ।
२) यदि अपराधकर्ममा संलग्न बालक १०बर्षदेखि १४बर्षसम्मको भएमा उसले जरिवाना हुने कसुर गरेमा सम्झाएर छोड्ने एवं कैद हुने कसुर गरेमा ६ महिना सम्म कैद वा १ बर्षसम्म बालसुधार गृहमा राखिने प्रावधान छ।
३) यदि अपराधकर्ममा संलग्न बालक १४ बर्षदेखि १६ बर्षसम्मको भए उमेर पुगेका मानिसलाई हुने सजायको आधा सजाय हुने प्रावधान छ।
४) यदि अपराधकर्ममा संलग्न बालक १६ बर्षदेखि १८बर्षको भए उमेर पुगेका मानिसलाई हुने सजायको दुईतिहाई सजाय हुने प्रावधान छ।