बिराटनगर/ मोरङको बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले आर्थिक अभावका कारण उपचार नपाएर बसेकी एक बालिकालाई निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभएको छ। डा.शर्माले मोरङको मिक्लाजुङ गाउँपालिका–६ कालिदहकी ७ बर्षीया रुस्मा बस्नेतको निधारमा पलाएको ट्यूमरको शल्यक्रियासहितको सम्पूर्ण उपचार निःशुल्क गराईदिनुभएको हो।

बिपन्न परिवारकी ती बालिकाको परिवारले खर्च जुटाउन नसक्दा उपचार हुन सकेको थिएन। जन्मिएको करिब एक महिनादेखिनै निधारमा निस्किएको डल्लो बढ्दै जाँदा उनलाई आँखा हेर्नसमेत समस्या हुँने गरेको थियो। तरपनि, पैसा अभावमा उनको उपचार हुन सकेको थिएन। IMG_5259

नेपाली काँग्रेसका मोरङ जिल्ला सभापति डिगबहादुर लिम्बूमार्फत बिरामीको अवस्था थाहा पाएपछि डा.शर्मा उनको घरमै पुग्नुभएको थियो। उहाँले बिरामीको पारिवारिक अवस्था बुझेर नोबेल अस्पतालमा ल्याई बालिकाको निःशुल्क औषधि उपचारको व्यवस्था मिलाईदिनुभएको हो। डा.शर्माले करिब दुई लाख रुपैँया बराबरको औषधि उपचार निःशुल्क गराईदिनुभएको छ।

रकम अभावले उपचार गर्न नसकिरहेको अवस्थामा डा.शर्माले सम्पूर्ण खर्च ब्यहोरेर निःशुल्क उपचारको व्यवस्था मिलाईदिएपछि अहिले बालिकाको परिवार हर्षित छ। ‘पैसा अभावले छोरीको उपचार गर्न सकिरहेका थिएनौं।’ बालिकाका बुबा बिकासले भन्नुभयोे–‘सुनिल सरले सबै खर्च निःशुल्क गरेर उपचारको व्यवस्था मिलाईदिदा ढुंगा खोज्दा देउता मिलेजस्तो भयो।’

नोबेलका बरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरुको टिमले बालिकाको निधारमा पलाएको ट्यूमरको सफल शल्यक्रिया गरेको हो। सल्यक्रियापछि बालिका अहिले अस्पतालबाट डिस्चार्ज भईसकेकी छन्।