काठमाण्डौ / प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा र सवा लाख दीप प्रज्वलन गर्नुभएको छ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुग्नुभएका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गर्नुभएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले राससलाई जानकारी दिनुभयो। सो अवसरमा उहाँले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिनुभएको छ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उहाँले कोषका पदाधिकारीलाई निर्देशन दिनुभएको छ। सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी हुनुहुन्थ्यो।

विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रधानमन्त्रीलाई प्रसाद लगाइदिनुभएको छ। मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको पनि कोषले जनाएको छ।

-रासस