काठमाण्डौ/ खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभाग, प्लान्ट क्वारेन्टाइन तथा बिषादी व्यवस्थापन केन्द्र र पशुसेवा बिभागले आफ्ना कार्य एकद्वार प्रणालीमा ल्याउने भएका छन्। आयात–निर्यात व्यापारमा सहजीकरण ल्याउने उद्देश्यले आईतबार(आज) कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सम्झौता गरिएको हो।

मन्त्रालयमा भन्सार बिभाग र कृषि मन्त्रालयअन्तर्गतका तीनवटा बिभागबीच सम्झौता भएको हो। सो अवसरमा कृषि मन्त्री पद्माकुमारी अर्यालले प्रविधिका प्रयोगबाट जनतालाई परिवर्तनको अनुभूति गराउन सरकार कटिबद्ध रहेको बताउनुभयो।

एकद्वार प्रणालीमार्फत अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सम्बद्ध पक्ष आयात–निर्यात तथा पारवहनका सम्पूर्ण आवश्यक कागजात तथा सूचना एकैपटक र एउटै प्रवेश विन्दुबाट प्रवेश गर्न सक्छन्।

थाइल्याण्ड, सिङ्गापुर, मलेसिया, इण्डोनेसिया, दक्षिण कोरिया, किर्गिजस्थान, अजरबैजान, जापानलगायत एशियाली मुलुकले एकद्वार प्रणालीको अभ्यास गरिरहेका छन्। भारत, पाकिस्तान, बङ्गलादेश र मालदिभ्स तयारीका अवस्थामा छन्।

बिश्वमा एकद्वार प्रणाली सार्वजनिक तथा सार्वजनिक निजी साझेदारी अभ्यासमा रहेको देखिन्छ। एकद्वार प्रणालीबाट विभाग तथा कार्यालयको कार्यकुशलता बढ्ने, पारदर्शिता सूचनाको सरल आदानप्रदान, जोखिम व्यवस्थापनमा टेवा, विभिन्न निकायबीच समन्वय, विश्लेषणात्मक क्षमताको अभिवृद्धि र बिद्युतीय भुक्तानी हुने छन्।
-रासस