बिराटनगर/ झापा र मोरङका बिभिन्न ठाउँबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर र लागुऔषध ट्याब्लेटसहित ८ जना पक्राउ परेका छन्। मोरङ रतुवामाई नगरपालिका ४ आमबारीबाट ४ जना, झापाको मेचीनगर नगरपालिका ६ बाट २ जना, यस्तै बुद्वशान्ति गाउँपालिका ४बाट एकजना र दमक ५बाट एकजना पक्राउ परेका हुन्।

मोरङ रतुवामाई नगरपालिका ४ आमबारीबाट सोमबार अपरान्ह साढे ४ बजे ब्राउन सुगरसहित रतुवामाई २ झुर्कियाका ४२ बर्षीय मोहम्मद रफिक मिया र भारतको अररिया जिल्ला कुचहा धाताका २२ बर्षीय मोहम्मद नवाब आलम पक्राउ परेका हुन्।

भारतीय नम्बर प्लेट BR375823 को मोटरसाईकलमा सवार दुबैजनालाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा १२६ ग्राम १४ मिलिग्राम ब्राउनसुगर फेला पारेको र सो लागुऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यसैगरी सोमबार साँझ झापाको मेचीनगर नगरपालिका ६बाट ब्राउनसुगरसहित धरान उप महानगरपालिका १७ का २४बर्षीय ईश्वर थापा र पाँचथरको हिलिहाङ गाउँपालिका २ का २८ बर्षीय अरुण सुब्बालाई ५० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ।

यस्तै सोमबार साँझ ५ बजे १ ग्राम ६०० मिलिग्राम ब्राउनसुगरसहित दमक ३ का २० बर्षीय समिर तामाङ र २२ बर्षीय नविन लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले बेलडागीबाट पक्राउ गरेको हो।

त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका ४ का २२ बर्षीय प्रवेश माझीलाई ६ ग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ। बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले सोमवार दिउँसो माझिलाई स्थानीय किरात चोकबाट पक्राउ गरेको हो।

यस्तै ईलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका ५ का १५ बर्षीय रमेश राजवंशीलाई लागुऔषध लुपिजेसिक ३० सिसि, डाईजोपिन ३० सिसि र प्रोमोथाईजिन ३० सिसिसहित मेचीनगर नगरपालिका ६ बाट पक्राउ गरेको छ।

लागुऔषधसहित पक्राउ परेका आठैजनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।