डेस्क/ स्पेनिश सुपरकपको फाइनलमा बार्सिलोना एथलेटिक्स बिलबाओसँग पराजित भएको छ। आज बिहान सम्पन्न सुपरकपको फाइनलमा १३औं पटकको विजेता बार्सिलोना बिलबाओसँग २-३ गोलले पराजित भएको हो।

पहिलो हाफमा १-१ गोलको बराबरीमा रोकिएको बार्साले दोस्रो हाफको ७७औं मिनेटमा अर्को गोल गर्दै खेलमा अग्रता कायम गरेको थियो। खेलको अन्तिम समय ९०औं मिनेटमा बिलबाओले एक गोल गर्दै २-२ गोलले बराबरीमा पुर्‍याएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको ९४औं मिनेटमा बिलबाओका विलियम्सले गरेको गोल निर्णायक बन्न पुग्‍यो।

चोटका कारण सेमिफाइनल गुमाएका लिओनल मेस्सीले फाइनलमा भने अतिरिक्त समयको १२०औं मिनेटमा रातो कार्ड पाएपछि बार्सा झनै कमजोर भएको थियो। साविक विजेता रियल मेड्रिडलाई बिलबाओले सेमिफाइनलमै एकका विरुद्ध दुई गोलले पछि पार्दै फाइनलसम्म आइपुगेको हो । यो हारसँगै बार्सिलोना स्तब्ध बन्न पुगेको छ।