बिराटनगर/ बिराटनगर बिमानस्थललाई क्षेत्रीयस्तरको बिमानस्थल बनाउन १२६ विगा जमिन अधिग्रहण गर्दा पर्ने घर, घडेरी र जमिनवालहरुको संयुक्त भेलाले उचित मुआब्जा र क्षतिपूर्तिको पहल गर्न १५ सदस्यीय संघर्ष समिति गठन गरेका छन्।

बिस्थापित हुने वडावासीलाई उचित मुआब्जा र क्षतिपूर्ति दिलाउनका लागि बेदराज पौडेलको संयोजकत्वमा बिराटनगर बिमानस्थल पिडित संघर्ष समिति गठन गरिएको हो।

जसमा बिनोद भण्डारी, रेवतबहादुर खड्का सन्तोष, उद्धव कार्की लगायत १५ जना सदस्य छन्।

बिराटनगर महानगरपालिकाको वडा नम्बर ४ मा रहेको बिमानस्थलको चारैतिर बिस्तार हुँदा ४ नम्बर वडाका करिब ३ सय घर परिवार बिस्थापित हुनेछन्। हालै बिमानस्थलले बिस्तारित बिमानस्थलको बाउण्ड्री सर्भे सम्पन्न गरेको छ।

संघर्ष समितिका संयोजक पौडेलले बिमानस्थलको वरिपरि घर निर्माण गरेर बर्षाैदेखी बसोबास गर्दै आएका सर्बसाधरणले घरबार बिहिन बन्नु पूर्व नै राज्यले उचित क्षतिपूर्ति देओस र उनीहरु अहिले बसोबास गरेजतिकै ठाउँमा जमिन किनेर घर बनाएर बस्न सकुन भन्ने उद्देश्यले क्षतिपूर्तिको पहलका लागि संघर्ष समिति गठन गर्नुपरेको बताउनुभयो। biratnagar airport servey 1

बिमानस्थल क्षेत्रीय र अन्तराष्ट्रिय स्तरकै बन्नुपर्छ भन्ने आफुहरुको पहल हुने र बिमानस्थल बिस्तारमा कुनै अवरोध गर्ने नभई संघर्ष समितिले राज्यबाट पाउने क्षतिपूर्ति न्यायसंगत व्याबहारीक हुनुपर्ने बिषयमा पहल गर्ने पौडेलले बताउनुभयो।

उहाँले बिमानस्थल कहिले सम्म मुआब्जा दिएर घर जमिन खालीगर्नु पर्ने हो त्यसको मिति स्पष्ट गर्नुपर्ने, क्षतिपूर्तिका आधारहरु स्पष्ट पार्नुपर्ने, आधा घर र आधा जमिन मात्रै परेकाको हकमा कस्तो क्षतिपूर्ति दिने भन्ने लगायतका बिषयमा पहल गर्ने उहाँले प्रष्ट्याउनुभयो। पौडेलले राज्यले दिने क्षतिपूर्तिले अहिले बसिरहेको थातथलो भन्दा पनि सुगममा जमिन किनेर घर बनाउने सक्ने हैसियत हुनेगरि ब्यवस्था गरिनुपर्ने जिकिर गर्नुभयो।

क्षेत्रीय र पछि अन्तराष्ट्रिय स्तरको बिमानस्थल निर्माण गर्ने लक्ष रहेको बिमानस्थलको चारैतिर यो पटक १२६ दशमलव ४६विगा जमिन अधिग्रहणका लागि सर्भे सम्पन्न भईसकेको छ। बिमानस्थल क्षेत्रीय स्तरको हुँदा मोरङ जिल्लाको बिराटनगर महानगरपालिका वडा नम्बर ४ र सुनसरीको बर्जु गाउँपालिका सम्म बिस्तार हुनेछ । क्षेत्रीय स्तरको निर्माण सम्पन्न हुँदा नेपालको दुईजिल्ला छुने यो एकमात्र बिमानस्थल बन्नेछ।

यसअघि कार्तिक २७ गते बिमानस्थल बिस्तारका लागि आवश्यक पर्ने १२६.४६ बिघा जग्गा अधिग्रहण गर्ने निर्णय मन्त्रीपरिषदले गरेको थियो। बिस्तार हुदा बिमानस्थलको धावनमार्गको लम्बाइ दुई हजार ५०० सय मिटर लामो हुनेछ।

हालको धावनमार्ग एक हजार ५००मिटरको छ। साबिक बिमानस्थललाई बिस्तारका लागि पूर्वतर्फ ७.८३ बिघा, पश्चिमतर्फ ६९.१४ बिघा, उत्तरतर्फ ३५.८१ बिघा र दक्षिणतर्फ ८.८७ बिघा तथा सडकका लागि ३.७० बिघा जग्गा अधिग्रहण गर्नुपर्ने एकिन गरिएको छ। त्यहि अनरुप अहिले बाउण्ड्री सर्भे गर्ने काम सकिएको हो।