काठमाण्डौ/ प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै सरुवा भई जान लागेका प्रहरी उपरीक्षकहरु र प्रहरी नायव उपरीक्षकहरुलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार भएको एक समारोहमा आवश्यक निर्देशन दिनुभएको छ।

सो अवसरमा प्रहरी महानिरीक्षक थापाले हालको परिस्थितिलाई मनन र बिष्लेषण गरी सोही अनुरुपको कार्य योजना बनाई अगाडि बढ्न सरुवा भई जान लागेका प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो।

हालको सुरक्षा चुनौति व्यवस्थापन, तस्करी तथा गुन्डागर्दी नियन्त्रण र नेपाल सरकारद्वारा घोषित निर्वाचनलाई मध्यनजर राखी आवश्यक तयारीमा जुट्नुपर्नेमा उहाँले जोड दिनुभयो।

प्रहरी महानिरीक्षक थापाले हालै संगठनले लागू गरेको नेपाल प्रहरी कार्य योजना र प्रहरी कर्मचारीले पालना गर्नुपर्ने आचार संहितालगायतका नीति निर्देशनलाई अक्षरस पालना गरी लागू गर्नुपर्ने बताउनुभयो।

सेवाग्राहीले देख्ने र भोग्ने गरी प्रहरी कार्यमा सकारात्मक परिवर्तन आएमा तपाईको उपस्थिति सार्थक हुने हुनाले सबैले आफ्नो कर्तव्य र संगठनले दिएको जिम्मेवारी पूरा गर्नुपर्ने महानिरीक्षकको जोड थियो। कार्यालय व्यवस्थापन, साधनश्रोतको उचित परिचालन र मर्मत सम्भारलगायतका दैनिक कृयाकलापमा बिशेष ध्यान दिई चुस्त दुरुस्त रुपमा प्रस्तुत हुन समेत उहाँले निर्देशन दिनुभयो।

प्रहरी प्रधान कार्यालयले यही पुस २१ गते ३० जना प्रहरी उपरीक्षकहरु र ६९जना प्रहरी नायव उपरीक्षकहरुको सरुवा गरेको थियो। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, बरिष्ठ प्रहरी अधिकृतहरुलगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति थियो।

तस्विर सौजन्य :नेपाल प्रहरी