बिराटनगर/ कोशी राजमार्ग अन्तर्गत सुनसरीको दुहवीमा सडक बिस्तार गर्न नदिने स्थानीयले अडान लिएका छन्। बुधबार बिराटनगरमा पत्रकार सम्मेलन गरी स्थानीयले सरकारले जवर्जस्ती घर टहरा भत्काए प्रतिकारमा उत्रने चेतावनी दिएका हुन्।

सरकारले दुहवी बजार एरियालाई बिल्डअप क्षेत्र घोषणा गरेकाले सो क्षेत्रभित्रको सडक बिस्तार गर्न नदिने स्थानीयले अडान छ। दुहबीबासीको अबरोधका कारण दुहबी बजार क्षेत्रमा सडक बिस्तारको काम शुरु हुन सकेको छैन। बिराटनगरको रानी देखि सुनसरीको तरहरासम्म सडक बिस्तारको काम धमाधम भइरहे पनि सुनसरीको दुहवी बजार क्षेत्रमा स्थानीयले निरन्तर अवरोध गरिरहेका छन्।

बिराटनगर–धरान ६लेन सडक योजनाले पुष १८ गते १५दिनको म्याद दिँदै घरटहरा हटाउने सूचना जारी गरेपछि दुहबी बजारबासी आक्रोशित भएका हुन्। उनीहरुले सडक बिस्तार रोक्न दुहबी बिल्टअप एरिया संघर्ष समिति गठन गरेका छन्।

सरकारसँग जमिन किनेर बसोबास गरेका कारण सरकारले २०५४ सालमा राजमार्गको ६ सय ३० मिटर दाँया, बाँया पर्ने क्षेत्रलाई बिल्डअप क्षेत्र घोषणा गरेको संघर्ष समितिका उपाध्यक्ष बिपी रौनियारले बताएका छन्। उनले विल्डअप क्षेत्र घोषणा गरिसकेकाले त्यस क्षेत्र भित्रका घर टहरा भत्काउन नमिल्ने दाबीसमेत गरेका छन्।

हाल दुहबी बजार क्षेत्रमा ५० फिट चौडा सडक मात्रै छ। यो सडकलाई बिस्तार गरि १सय ३८ फिट पु¥याउने सरकारको तयारी छ। सरकारले जवर्जस्ती घर टहरा भत्काउन खोजे आफूहरु प्रतिकारमा उत्रन बाध्य हुने रौनियारले बताएका छन्।

सडक बिस्तार भए दुहवी बजार क्षेत्रका २ सय ५४ घरधुरी घरबार बिहिन हुने ररौनियारको भनाई छ। यता छ लेन सडक योजना इटहरीले भने स्थानीयले अवरोध गरिरहे सडक बिस्तार नहुने स्पष्ट पारेको छ। ‘अवरोध काम रहिरहे दुहबी क्षेत्रमा सडक बन्दैन’, योजनाका प्रमुख बद्री शर्माले भने। दुहबी बजार उत्तर र दक्षिण क्षेत्रमा सडक बिस्तार भइसके पनि स्थानीयको अवरोधले दुहवी बजार क्षेत्रको २ किलोमिटर भागमा काम अघि बढ्न नसकेको शर्माले जानकारी दिएका छन्।

बिराटनगरको रानी देखि किमाथाङ्का सम्मको यो राजमार्गले भारत र चीनलाईसमेत जोड्ने भएकाले कोशी राजमार्गलाई अन्तर्राष्ट्रिय ब्यापारको हिसावले महत्वपूर्ण मानिदै आएको छ। निर्माणाधिन कोशी राजमार्गको उत्तरतर्फ १४ किलोमिटर मात्रै ट्य्राक खोल्न बाँकी छ।

नागरिक अनलाईन