बिराटनगर/ प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सामाजिक बिकास हिक्मतकुमार कार्कीले सहिद मैदान बिराटनगरमा जडान गरिएको फ्लड लाइटको अनुगमन गर्नुभएको छ। फ्लड लाइट जडान कार्य अन्तिम चरणमा पुगेपछि मन्त्री कार्कीले मंगलबार अनुगमन गर्नुभएको हो।

लाईट जडानमा गुणस्तरीय सामाग्री प्रयोग गर्न मन्त्री कार्कीले निर्देशन दिनुभयो। शहिद मैदानका चारकुनामा राखिएका मास्ट पोलको उहाँले अनुगमन गर्नुभएको थियो। अनुगमनका क्रममा मन्त्री कार्कीले प्याराफिटको मर्मत पनि प्रदेश सरकारले गर्ने बताउनुभयो।

अनुगमनका क्रममा सामाजिक बिकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले फ्लड लाइटका लागि ३ सय केभिको ट्रान्सफर्मर जडानका प्रकृयापनि शुरु गरिएको मन्त्री कार्कीलाई जानकारी गराउनुभएको थियो।

फ्लडलाइट जडानका लागि गतवर्षको असोज १ गते सामाजिक बिकास मन्त्रालय र कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनबीच सम्झौता भएको थियो। २ सय १० दिनभित्र निर्माण कार्य सम्पन्न गर्ने सम्झौता गरिएपनि कोरोनाका कारण जडान कार्यमा ढिलाई भएको कन्स्ट्रक्सनले जनाएको छ। मन्त्रालयले फ्लड लाइट्स जडान कार्यका लागि कार्की बन्धु अमर जेभीसँग ४ करोड २९ लाख रुपैयाँमा सम्झौता गरेको थियो।

चार कुनामा रहेका प्रत्येक मास्ट पोलमा १ हजार वाटका २७ वटा बल्व हुने कार्की बन्धु अमर जेभीले जनाएको छ।