सुनसरी/ बिराटनगर इटहरी धरान ६ लेन सडक योजना अन्र्तगत इटहरीमा सडक बिस्तारको ठेक्कापट्टा भएको स्थानमा सडक सिमाभित्र पर्ने संरचना सात दिनभित्र हटाउन सार्वजनिक सूचना गरिने भएको छ। इटहरी उपमहानगरमा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो।

सूचना जारी भएको सात दिन भित्र सडक सिमाभित्रको आफ्नो संरचना नहटाए इटहरी उपमहानगर, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय लगायतको सहयोगमा ठेक्कापट्टा भएको सडक सिमाभित्रका संरचना हटाउने निर्णय भएको छ।

इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरी, उपप्रमुख लक्ष्मी गौतम, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेल, प्रहरी प्रमुख कमल थापा, इटहरी उपमहानगरका वडाध्यक्षहरु तथा रानी बिराटनगर इटहरी धरान सडक योजनाका प्रमुख बद्रि प्रसाद शर्मालगायत सरोकारवाला सहभागि बैठकले यस्तो निर्णय गरेको हो। बैठकमा सडक सिमा भित्रका संरचना नहटाइएका कारण निर्माण कार्यमा बाधा भएको बिषयमा छलफल भएको थियो।

यसअघि २०७६ फागुन १६ गते उपमहानगरमा बसेको बैठकले सडक सिमा खाली गराउने निर्णय गरेको थियो। त्यसपछि राष्ट्रिय पत्रिकाहरुमा संरचना हटाउन सार्वजनिक सूचना जारी भएको थियो। हटाउनुपर्ने अस्थायी तथा स्थायी संरचनाको इटहरी उपमहानगर र योजनाका प्राविधिकहरुवाट संयुक्त लगत संकलन कार्य समेत भएको थियो।