मोरङ्ग/ प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईबिरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ। नेकपा संसदीय दलका उपनेता टंक आङ्बोहाङको नेतृत्वमा गएको टोलीले संसद सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेको हो।

संसद सचिवालयमा दर्ता भएको अबिश्वासको प्रस्तावमा ३७ जना सांसदको हस्ताक्षर रहेको संसद् सचिवालयले जनाएको छ। दाहाल–नेपाल पक्षले अबिश्वासको प्रस्तावसँगै मुख्यमन्त्रीमा भीम आचार्यलाई प्रस्ताव गरेको छ।

यसअघि संसदीय दलको निर्वाचनमा उनी राईसँग २ मतले पराजित भएका थिए। आचार्यलाई मुख्यमन्त्री बनाउने प्रस्तावको प्रस्तावक हिजो मात्र मन्त्रीपदबाट बर्खास्तीमा परेका इन्द्रबहादुर आङ्बो र समर्थकमा लछुमन तिवारी छन्।

आफू सहभागी सरकारबिरुद्ध अविश्वासको प्रस्ताव ल्याउन आफै लागेको थाहा भएपछि आर्थिक मामिला मन्त्री आङ्बोलाई शनिबार साँझ मुख्यमन्त्री राईले बर्खास्त गरेका थिए।

९३ सदस्य रहेको प्रदेशसभामा नेकपाका ६७ जना सदस्य छन्। पार्टी बिभाजनपछि ओली समूहमा १९ र दाहाल–नेपाल समूहमा ४८ जना सदस्य छन्। प्रदेशसभामा नेपाली कांग्रेसको २१, जसपाको ३, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चको १ र राप्रपाको १ सदस्य छन्।

मुख्यमन्त्री राईबिरुद्व अविश्वास प्रस्ताव दर्ता गर्नुअघि सामाजिक बिकास मन्त्री जीवन घिमिरे, राज्यमन्त्री जसमाया गजमेर र उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री विजय बिश्वास थारूले राजिनामा दिएका थिए।