सुनसरी/ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को जारी केन्द्रिय कमिटीको बैठकबाट सुनसरीबाट ८ जना मनोनयनमा परेका छन्। जसमा संबिधान सभा सदस्य रेवती भण्डारी देखि प्रदेश सांसद सर्वध्वज सावाँसम्म परेका छन्।

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलिको नेतृत्वमा बसेको बैठकले सुनसरीका अग्रज कम्युनिष्ट नेता ओम कोइराला, प्रदेश सांसद सर्बध्वज साँवा, तत्कालिन संबिधान सभा सदस्य रेवती भण्डारी, खेमराज पोख्रेल, मुरारी सुवेदी, मोतिराज सुनुवार, बिजय राई र इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमलाई चयन गरेको हो।

यसैगरी प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाबाट मात्रै १८ जनाभन्दा बढीलाई केन्द्रीय सदस्य बनाइएको छ। प्रधानमन्त्रीको गृहजिल्लाबाट केन्द्रीय समितिमा मनोनित हुनेहरुमा हरिचरण बानियाँ, हरिचरण शिवाकोटी, प्रेम गिरी, अर्जुन राई, एलपी साँवा, मेनुका काफ्ले, दीपक कार्की, हरि राजबंशी, देवेन्द्र दाहाल, मनकुमार गौतम, एकराज कार्की, बिमला विक, सुमित्रा भण्डारी, टीका बस्नेत, जसमाया गजमेर, हिरा थापा, गोपालचन्द्र बुढाथोकी र बिश्व बराल लगायत छन्।

यसैगरी मोरङबाट घनश्याम खतिवडा, नरेश पोखरेल, डीपी राई, हरि घिमिरे, ऋषि पोखरेल, गंगा डाँगी, मीना यादव, सत्यनारायण चौधरी, रामलाल साहलगायतका नेताहरु केन्द्रीय कमिटीमा थपिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार (पुस ६) कै मितिमा नेपाल कम्युनिस्ट पार्टी नेकपामा ५५६ जना केन्द्रीय सदस्यहरु मनोनयन गरेका गरेका छन्। सोमबार प्रधानमन्त्रीले नेकपाको मौजुदा ४४७ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना थपेर १००३ जना पुर्‍याएका छन्। सोमबारै मनोनित गरिएकाहरुलाई पनि मंगलबारको बैठकमा उपस्थित गराइएकाले बालुवाटारमा मंगलबार बसेको बैठकमा नेताहरुको उपस्थिति धेरै देखिएको थियो ।

ओलीले केन्द्रीय कमिटीको कुल संख्या ११९९ सदस्यीय बनाएका छन्। यो कमिटीलाई पूर्णता दिनका लागि अझै १९६ जना थप्न बाँकी छ। ओलीले आफ्नो समूहमा रहेका विघटित प्रतिनिधिसभाका सांसदहरुलाई एकमुष्ट रुपमा केन्द्रीय सदस्य मनोनित गरेका छन्।

मंगलबार बालुवाटारमा आयोजित आफ्नो समूहको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको प्रथम अध्यक्षको हैसियतले पार्टीको मौजुदा कमिटीमा आवश्यक संख्या थपी यसलाई सुदृढ, सन्तुलित र गतिशील बनाउनुपर्ने आवश्यकता देखी मौजुदा केन्द्रीय कमिटीमा कमरेडहरुलाई समावेश गरी हालको संख्यामा ५५६जना थपेको बताएका थिए।