इटहरी/ गएको मंसिर २३ गते मोरङको सुन्दरहरैचा नगरपालिका वडा नम्बर १० बाट बिहान साढे ७ बजेतिर दिपक गुरुङको को १५ प ५९८९ नम्वरको बुलेट बाईक चोरी भयो। गुरुङले बिराटचोकमा रहेको कफि क्लब अगाडीको सडक किनारामा पार्किङ गरेर राखेको बाईक हराएको हो।

गुरुङको ROYAL INFIELD कम्पनीको कलेजी रङको बुलेट मोटरसाईकल चोरी भएपछि गुरुङले इलाका प्रहरी कार्यालय बिराटचोकमा निवेदन दिएका थिए। प्रहरीले निबेदन आएपछि खोजी कार्यलाई तिब्रता दिएको थियो।

यसैक्रममा इटहरीस्थित इलाका प्रहरी कार्यालयमा इटहरी ५ मा रहेको डेनाली अटो ईन्टरप्राईजेजमा बुलेट बाईकको पार्टपुर्जा निकालेर अर्को बुलेटमा फिट गर्दै गरेको बिषेश सुचना प्राप्त भयो।

सुचना पछाडी इटहरी प्रहरीले यहि पौष २ गते अपरेशन ह्विल अन्तरगत इटहरी ५ स्थित डेनाली अटो ईन्टरप्राईजेजमा छापा मार्‍यो। छापा मार्ने क्रममा प्रहरीले को १५ प ५९८९ नम्वरको बुलेट मोटरसाईकलको पार्टपुर्जा खोलेर बा ४८ प ३८८३ नम्बरको खैरो रङको बुलेट मोटरसाईकलमा जोड्दै गरेको भेटेको छ।

पार्टपुर्जा खोलिएको र अर्को बुलेट मोटरसाईकल समेत बरामद गरी सोही ग्यारेजमा काम गर्ने इटहरी ८ बस्ने १९ बर्षीय मोहम्मद पुर्वानलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका सूचना अधिकृत प्रहरी निरिक्षक केशव कुमार कटवालले पूर्वी खबरलाई जानकारी दिनुभयो।

यसैगरी डेनाली अटो ईन्टरप्राईजेजको सञ्चालक फरार रहेको र पक्राउ परेका पूर्वान र बरामद मोटरसाईकल समेत थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बेलबारी मोरङ पठाईएको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले पूर्वी खबरलाई बताउनुभयो।