इटहरी/ मंसिर २८गते सवा सात बजेतिर इटहरी ४ का सन्दिप कटवालको प्रदेश १-०५-००१-प २०७ नम्बरको २२० सिसीको पल्सर मोटरसाईकल चोरी भयो। कटवालले इटहरी ६ स्थित बर्गर हाउस अगाडी सडक किनारामा मोटरसाईकल पार्किङ गरी राखेका थिए।

पार्किङ गरेर राखेको मोटरसाईकल चोरी भएपछि इलाका प्रहरी कार्यालय इटहरीले बर्गर हाउस वरपर भएका सिसी क्यामेराको फुटेज हेर्‍यो। फुटेजमा मोटरसाईकल चोरीमा संलग्न ब्यक्तिको प्रहरीले पहिरन पहिचान गरेको थियो। सोहि पहिरनलाई आधार बनाएर प्रहरीले अपरेशन ह्विल नामको अपरेशन नै चलायो।

IMG_8665
मोटरसाईकल चोरीमा संलग्न चौधरीद्वय

इलाका प्रहरी कार्यालय इटहरीले अपरेशन ह्विल सञ्चालन गरी बिशेष टोली परिचालन गरेर खोजी कार्य अगाडी बढाउँदा सिसी क्यामराको मद्दतबाट संलग्न व्यक्तिहरुको पहिचान तथा खोजी गर्ने क्रममा मंसिर ३० गते राती ८ बजेतिर इहटरी ६स्थित बिराटनगरलाईनबाट चोरी गर्दा लगाएको पहिरनको आधारमा दुईजनालाई नियन्त्रणमा लिएको छ।

बिराटनगर लाईनको पश्चिम किनारामा मोटरसाईकलको अगाडी चालकको रुपमा झापाको गौरादह नगरपालिका २ बस्ने २४ बर्षीय बिजय चौधरी र मोटरसाईकलको पछाडी झापाकै बाह्रदर्शी गाउँपालिका ६ बस्ने १९बर्षीय नगेन्द्र चौधरी सवार भई रोकी राखेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।

IMG_8660
मोटरसाईकल चोरीबारे जानकारी गराउँदै प्रहरी

प्रहरीले चौधरीद्वयको साथबाट चोरी भएको मोटरसाईकलका अतिरिक्त दुईवटा मोवाईल, प्लाष्टिकको डोरी, एउटा मार्कर, एउटा पेचकस, एउटा टेष्टर, एउटा पिलास, एउटा तारको टुक्रा, एउटा रिङ सहितको चावी, एउटा कालो ब्याग, एउटा कालो टेप र एउटा सलाई पनि बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई चोरी मुद्दामा सुनसरी जिल्ला अदालत हिरासतमा राख्न अनुमती लिएर थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।